२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

प्रदेशमन्त्री सिंहले गर्नै पाएनन् मष्टाको दर्शन बाटोमै अस्ताए

SansherOnline SansherOnline
मङ्गलबार ०५, असार २०८० ०७:०६
प्रदेशमन्त्री सिंहले गर्नै पाएनन् मष्टाको दर्शन बाटोमै अस्ताए

बझाङ : पत्नी अमृतासहित धनगढीबाट गृह जिल्ला बझाङ हिँडेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवारी दुर्घटनामा परी अस्ताए । बुधवार (भोलि) बझाङको ढंगार मष्टा मन्दिर दर्शन गर्ने र कार्यकर्ता भेटघाट गर्ने तयारीमा रहेका उनले मन्दिर दर्शन गर्नै पाएनन् ।

मन्त्रालयका नायब सुब्बा स्तरका एकजना कर्मचारी, निजी सचिवालयका कर्मचारी र परिवारका सदस्यसहित हिँडेका मन्त्री सिंह बाटोमै अस्ताए । मन्त्री पदमा बहाली भएपछि पहिलो पटक निर्वाचन क्षेत्र जाँदै गरेका सिंह सवार सुपप्र ०१–००१ झ ४८० नम्बरको गाडी दिउँसो १ बजेर ४३ मिनेटमा केदास्युँ गाउँपालिका–१ को धारछडा भन्ने स्थानमा दुर्घटनामा पर्‍यो ।

दुर्घटनामा गम्भीर घाइते भएका सिंहलाई नेपाली सेनाको हेलीकोप्टरमार्फत नेपालगञ्ज लगियो । उनको कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भयो । उनकी धर्मपत्नी अमृता सिंह (वर्ष ५०) र भाउजू जयादेवी सिंह (६५) को पनि बझाङमै निधन भयो । गाडीमा सवार मन्त्री सिंहका निजी सुरक्षा गार्ड(पीएसओ) प्रहरी सहायक हवल्दार दीपक भण्डारी र चालक धर्मराज जोशीको भने नेपालगञ्जमा उपचार भइरहेको छ ।

बझाङको जयपृथ्वी नगरपालिका–१० घर भएका उनी हाल कञ्चनपुरको बेलौरी नगरपालिकामा बसोबास गर्दै आएका थिए ।

प्रतिक्रिया