२०८१ पुष १८ गते बिहिबार
ट्रेन्डिङ

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन भोलिका लागि आह्वान

SansherOnline SansherOnline
शनिबार २६, साउन २०८१ १०:३५
सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन भोलिका लागि आह्वान

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले भोलि दिउँसो २ बजे प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सरकारले तीन दिनअघि मात्रै प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य गरेर अस्ति बिहीवार राजश्व सङ्कलनसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेश प्रदेश प्रमुखबाट बिहीवार नै प्रमाणीकरण भइसकेको छ । अध्यादेश प्रमाणीकरणसँगै बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर सङ्कलनसम्बन्धी काम अगाडि बढेको  छ । बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर सङ्कलन लगायतको काम ठप्प भएको थियो ।

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभामा असार १ गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो । सरकारले अध्यादेश जारी गरी कर सङ्कलनको वातावारण बनाए पनि बजेट शून्यताको अवस्था भने अझै अन्त्य भएको छैन । 

प्रतिक्रिया