२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

पञ्चेश्वरमा गाई–गोरुमा लम्पीस्कीन विरुद्ध खोप अभियान

SansherOnline SansherOnline
शुक्रबार २७, पुष २०८० ०२:५०
पञ्चेश्वरमा गाई–गोरुमा लम्पीस्कीन विरुद्ध खोप अभियान

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिकाले किसानहरुले पालेका गाई–गोरु लम्पीस्कीन विरुद्धको खोप लगाउन अभियान थालेको छ । जिल्लामै पहिलो पटक गाउँपालिकाले आफ्नै श्रोतबाट खोप खरीद गरेर गाई–गोरुहरुलाई खोप लगाउन थालेको पशु सेवा प्राविधिक जानकी सोतीले बताउनुभएको छ ।

गत बर्ष लम्पीस्कीन रोगका कारण किसानहरुले क्षति व्यहोर्नुपरेकाले पशुचौपायाहरुलाई जोगाउन लम्पीस्कीन विरुद्ध खोप दिन थालिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

लम्पीस्कीन विरुद्धको खोप खरीदका लागि गाउँपालिकाले ४लाख बजेट विनियोजन गरेको र २ हजार ५ सय डोज खोप खरीद गरेको गाउँपालिकाले जनाएको छ ।

लम्पीस्कीन भाइरल रोग भएकाले घरपालुवा पशुचौपायाहरुलाई बचाउन प्रत्यके वडामा खोप लगाउने कार्य भइरहेको पशु स्वास्थ्य शाखामा कार्यरत प्राविधिक दिपकसिंह बोहराले बताए । लम्पीस्कीनबाट गाई–गोरु बढी प्रभावित भएकाले पहिलो चरणमा किसानहरुले पालेका गाईगोरु र बाच्छाबाच्छीहरुमा खोप लगाउने कार्य भइरहेको बोहराले बताए । 

पञ्चेश्वर गाउँपालिकाभित्र किसानहरुले पालेका गाई–गोरु झण्डै ६ हजार भएपनि पहिलो चरणमा सबै वडाका २ हजार ५ सय गाईगोरुलाई खोप लगाउने कार्य भइरहेको हो । लम्पीस्कीन रोगबाट किसानहरुले क्षति व्यहोर्न नपरोस भनेर खोप खरीदका लागि बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष चन्दले बताए ।

लम्पीस्कीन रोगबाट पञ्चेश्वरमात्रै गत बर्ष ७ हजारजति पशुचौपाया प्रभावित भएका थिए भने १ सय ३० पशुचौपाया मरेका थिए ।

प्रतिक्रिया