२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

गठबन्धनको निर्णयविरूद्ध लाग्नेहरूलाई कारबाही हुन्छः गृहमन्त्री खाण

SansherOnline SansherOnline
बुधबार ०७, बैशाख २०७९ ०४:५७
गठबन्धनको निर्णयविरूद्ध लाग्नेहरूलाई कारबाही हुन्छः गृहमन्त्री खाण

बैतडी । नेपाली कांग्रेसका नेता एवं नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनको निर्णयविरूद्ध लाग्नेहरूलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्।

पार्टीको केन्द्रीय कमिटी र गठबन्धनले गरेको निर्णयको विरूद्धमा लाग्ने जो कोहीलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाइने र पार्टीभित्र पनि स्थान नदिइने खाणको चेतावनी छ।

रूपन्देहीको तिलोत्तमा मणिग्रामस्थित आफ्नै घरमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री खाणले भने, ‘गठबन्धनविरूद्ध अहिले जो(जो लाग्नुभएको छ, उहाँहरूलाई पार्टीले कारबाही गर्नेछ, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको टिकट दिने बेला उहाँहरूको रेकर्ड हेरिने छ, पार्टीभित्र पनि उहाँहरूको नाम जगेडामा राखिने छ।’

खाणले वर्तमान सरकार गठबन्धनको जगमै बनेकोले नेपाली कांग्रेस गठबन्धनको निर्णयबाट भाग्न नमिल्ने बताए।

‘गठबन्धनबाटै अहिलेको सरकार बनेको हो, नेपाली कांग्रेसको १४ औं महाधिवेशनले समेत निर्वाचनसम्म गठबन्धनलाई जोगाउने निर्णय अनुमोदन गरिसकेकोले गठबन्धन जोगाउनु हाम्रो मूल दायित्व हो,’ उनले भने।

गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन देशभर एकैपटक हुँदा सुरक्षा चुनौती थपिएको भए पनि सरकार सुरक्षा व्यवस्था मजबुत बनाउन लागिरहेको बताए।
अघिल्लो पटकको तीन चरणमा सम्पन्न गरिएको स्थानीय तहको निर्वाचन यसपटक भने वैशाख ३० गते एकैदिन हुने भएकोले सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको उनले बताए।

खाणले सरकारले नेपाली सेना र निजी कम्पनीका हेलिकप्टर प्रयोग गरेर भएपनि निर्वाचनमा सुरक्षा व्यवस्थापन गर्ने जानकारी दिए।

‘सरकारले नेपाली सेनाको हेलिकप्टरबाट पनि निर्वाचनको सुरक्षाका लागि हवाई गस्ती गर्ने छ, सुरक्षा निकाय र गृह मन्त्रालय त्यसैको गृहकार्यमा लागिरहेको छ,’ खाणले भने।

गृहमन्त्री खाणले वैशाख ११ र १२ गते उम्मेदवारी दर्तापछि नै सुरक्षा व्यवस्थालाई कडाइ गरिने बताए।

यसपटक विगतमा निर्वाचनमा भाग नलिएका सिके राउत नेतृत्वको जनमत पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई समेत निर्वाचनमा भाग लिने वातावरण बन्दै गएको बताए।

‘कतिपय पार्टीहरूले पहिलो पटक निर्वाचनमा भाग लिँदै छन्, सरकारले उनीहरूलाई निर्वाचनमा भाग लिने वातावरण सृजना गरिरहेको छ,’ उनले भने।

प्रतिक्रिया