२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ
सतबाँझ सुक्खा फलफूल विकास केन्द्रले हाइटेक प्रविधिबाट हिउँदे फलफूलको नर्सरी उत्पादन सुरु गरेको छ ।

सतबाँझ सुक्खा फलफूलको डाँडो एकल महिलाको जीवनको सहारा,रोजगारी दिने केन्द्र

SansherOnline SansherOnline
बुधबार १३, असार २०८० ०२:४४
सतबाँझ सुक्खा फलफूलको डाँडो एकल महिलाको जीवनको सहारा,रोजगारी दिने केन्द्र

बैतडी : सरकारी स्वामित्वमा रहेको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रको डाँडो एकल महिलाको जीवनको सहाराका रूपमा रोजगारी दिने केन्द्र बनेको छ । स्याउ, ओखर, कागजी बदाम र नास्पातीका करिब ६० हजार बिरुवा हुर्काइरहेको सतबाँझको २९ हेक्टर क्षेत्रफलमा महिलाले मल बोक्ने, कान्ला खन्ने र बोटबिरुवा गोडमेल गर्ने काम गरेर वर्षभरि ४० लाख रुपियाँ कमाउने गरेका छन् ।   

सुर्नया गाउँपालिका–२ की एकल महिला द्रोपती पाण्डेयले सतबाँझको सुक्खा डाँडो जीवनको सहारा भएको बताइन। दुई दशकदेखि फलफूल विकास केन्द्रमा नियमित ज्याला मजदुरी गर्दै आउनुभएकी पाण्डेयले छोराछोरी हुर्काउने, पढाउनेदेखि सरकारी जागिरेसम्म पु(याएको बताइन। 

सुर्नया गाउँपालिका–२ की एकल महिला लक्ष्मी विष्ट, दशरथचन्द नगरपालिका–१ की बेलु भट्टको जीवन सुक्खा फलफूल विकास केन्द्रको रोजगारीले चलेको छ । 

दशरथचन्द नगरपालिका–१ की राजु भाटको जीवनको सहारा र बालबच्चाको आहार जुटाउने नियमित स्रोत सतबाँझको डाँडा बनेको छ । रोजगारी खोज्न भारत गएका श्रीमान् उतै दुव्यर्सनीमा फसेपछि सुक्खा फलफूल विकास केन्द्रको नियमित रोजगारीले घरधन्दा चलेको राजु भाटले बताइन । 

दशरथचन्द नगरपालिका–१ की पार्वती भट्टले कमाउने श्रीमान् अपाङ्गता भएपछि फलफूल विकास केन्द्रको नियमित रोजगारीले छोराछोरी पढाउन सकेको उनले बताइन । सतबाँझ सुक्खा फलफूल विकास केन्द्रमा दैनिक ४० देखि ६० जना महिलाले नियमित काम पाउने गरेको केन्द्रका प्राविधिक अर्जुन खड्काले बताइन । 

“सोमबार ५२ जना महिला काममा आएका छन्,” उनले भने, “कुनै दिन ८० जनासम्म पुग्छन् । मासिक तीन लाख रुपियाँभन्दा बढी ज्याला पाउने महिलाले वर्षभरिमा ४० लाखजति कमाउने गरेका छन् ।” 

कोरोनाका बेला गाउँका पुरुषले भारतबाट रोजगारी गुमाएर फर्किंदा सतबाँझमा काम गर्ने महिलाको कमाइले घर चलेको महिला कामदार जानकी भट्टले बताइन । 

घरपरिवारबाट पीडित बनेका महिला, श्रीमान् गुमाएर सहाराविहीन भएका अधिकांश महिलाको जीवन सतबाँझ सुक्खा फलफूल विकास केन्द्रको रोजगारीले चलेको उनले बताइन । 

स्थानीय सरकारले कुनै रोजगारी नदिए पनि सतबाँझ सुक्खा फलफूल विकास केन्द्रले नियमित रोजगारी दिएको महिलाले बताएका छन् । महिलाको मेहनतले सतबाँझ सुक्खा फलफूल विकास केन्द्रले वार्षिक ५० हजार ओखरका बोट बिक्री गर्दै आइरहेको छ । 

केन्द्रले यो वर्ष ओखरको नर्सरीबाट २५ लाख ६८ हजार ९६८ रुपियाँ राजस्व सङ्कलन गरेको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रका सह लेखापाल चाँदनी थापाले बताउनुभयो । 

अठार वर्षपछि फल्यो स्याउ 

बैतडीको सतबाँझको चिनारीका रूपमा रहेको गोल्डेन डेलिसियस जातको स्याउका बोटमा १८ वर्षपछि लटरम्मै स्याउ फलेका छन् । छ हजारमध्ये बचेका १५० बोटमा यो वर्ष लटरम्मै स्याउका दाना फलेका छन् ।   

तत्कालीन राजा महेन्द्रका पालामा २०१९ सालमा भारतको काश्मीरलगायत विभिन्न देशबाट ७३ प्रजातिका छ हजार स्याउका बोट ल्याएर २९ हेक्टर क्षेत्रफलमा फलफूल केन्द्र स्थापना गरिएको थियो । 

२९ हेक्टर क्षेत्रफलमा छ हजार स्याउका बोट लगाएर सतबाँझ बागवानी स्थापना भएको थियो । पछिल्लो दुई दशकयता सतबाँझमा हिउँ पर्न छाडेपछि गोल्डेन डेलिसियस जातको स्याउका बोट हराउँदै जान थालेका थिए । 

जाडो मौसममा हिउँ पर्न छाडेपछि सतबाँझ बागवानीको नामसमेत फेरेर सतबाँझ सुक्खा फललफूल विकास केन्द्र राखिएको छ । बागवानीमा बाँकी रहेका गोल्डेन डेलिसियस जातका बोटमा यो वर्ष लटरम्मै स्याउ फलेपछि यहाँका कर्मचारी खुसी भएका छन् । कुनै बेला लटरम्म स्याउ फल्ने बैतडीको सतबाँझमा डेढ दशकअघिबाट हिउँदे फलफूलको नर्सरी उत्पादन भइरहेको छ । नर्सरीमा ओखर, कागजी बदाम, जैतुन र नास्पातीलगायतका फलफूलको नर्सरी छ । केन्द्रले वार्षिक ५० हजार ओखरका बोट बिक्री गर्दै आइरहेको छ ।  

साबिकको गुरुखोलादेखि र वासुलिङ्ग गाविससम्म फैलिएको सतबाँझ सुक्खा फलफूल केन्द्र नेपाल सरकारको पूर्ण स्वामित्वमा रहने गरी २०१९ सालमा स्थापना भएको थियो । 

डार्फो भेराइटको स्याउ 

जलवायु परिवर्तनका कारण डेलिसियस जातको स्याउ फल्न छोडेपछि सतबाँझमा होचो जात ९डार्फो भेराइट० को स्याउका तीन सय बोट रोपिएका छन् । 

“डार्फो भेराइट होचो जातको स्याउ हो । रोपेको करिब तीन वर्षमै फल दिन थालेको छ,” सुक्खा फलफूल विकास केन्द्रका प्रमुख डम्बर भाटले भन्नुभयो, “पुराना डेलिसियस प्रजातिका स्याउको बोट पनि पर्याप्त हेरचाह र उपचार गरेपछि यो वर्षदेखि फल्न थालेका छन् ।”

२०६२/६३ देखि फलफूलको राजस्व शून्य थियो । यो वर्ष नयाँ र पुरानो प्रजातिका स्याउ फल्न थालेपछि खुसी लागेको केन्द्रका प्रमुख डम्बर भाटले बताउनुभयो । “डार्फो भेराइटको स्याउ त एकदमै राम्रो फलेको छ । राजस्व पनि उठ्ने सम्भावना छ । पुरोनो डेलिसियस प्रजातिको स्याउमा पनि दाना देखिन थालेका छन्,” उनले भने ।  

नयाँ र पुराना गरी सतबाँझ सुक्खा फलफूल केन्द्रमा अहिले एक हजार दुई सय स्याउका बोट रहेको कार्यालय प्रमुख भाटले जानकारी दिए । स्याउ फल्न थालेपछि सतबाँझको साख जोगिने आशा पलाएको उनले बताए । 

सिँचाइले ल्यायो परिवर्तन

बाह्रै महिना सुक्खा रहने बैतडीको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रमा डिप बोरिङबाट पानी तानेपछि सिँचाइ सुविधा पुगेको छ । समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रमा सुदूरपश्चिम प्रदेश सरकारको अगुवाइमा डिप बोरिङबाट चार इन्चको पाइपमा पानी तानिएको छ । 

डिप बोरिङबाट पानी पु-याउने योजना सफल भएपछि सुक्खा डाँडोमा कलकल पानी बग्न थालेको छ । नर्सरीमा हुर्किरहेका ५० हजार बोटबिरुवाले सिचाइबाट पानी पाएका छन् । 

हाइटेक प्रविधिबाट नर्सरी 

सतबाँझ सुक्खा फलफूल विकास केन्द्रले हाइटेक प्रविधिबाट हिउँदे फलफूलको नर्सरी उत्पादन सुरु गरेको छ । हाइटेक प्रविधिबाट हुर्किएका ओखरका चार सय बिरुवा बिक्री भएको केन्द्रका प्रशासन फाँटका अधिकृत डिल्लीराज भट्टले बताए । त्यसै गरी सिसाघरमा डेढ सय ओखरका कलमी बोट हुर्किरहेको उनले बताए । केन्द्र ओखर, कागजी बदाम, आरु, नास्पाती, जैतुनलगायतका हिँउदे फलफूलका बिरुवा उत्पादन भइरहेका छन् ।  

हिउँदे फलफूलको नर्सरीबाट मात्रै वार्षिक २५ देखि ३० लाख रुपियाँ राजस्व सङ्कलन हुने गरेको सतबाँझ सुक्खा फलफूल केन्द्रले जानकारी दिएको छ । यसबाहेक तरकारी र घाँसबाट पनि वार्षिक थप तीन लाख रुपियाँ राजस्व उठ्ने गरेको छ ।  गोरखापत्र

प्रतिक्रिया