२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ
गिनिज बुकमा नाम लेखाउने तयारी

शरीरका ७ अङ्गले लेख्न सक्ने अनौठो क्षमता भएका मनोजः ६ कलमले एकसाथ लेख्छन् उल्टो–सुल्टो

SansherOnline SansherOnline
शनिबार २६, फागुन २०८० ०६:०५
शरीरका ७ अङ्गले लेख्न सक्ने अनौठो क्षमता भएका मनोजः ६ कलमले एकसाथ लेख्छन् उल्टो–सुल्टो

बैतडी : बैतडीको सिगास गाउँपालिका– ९ चुवा गाउँका मनोज चन्दको बायाँ हात सक्रिय थियो । उनी बायाँ हातले नै खान्थे, स्कूलमा पनि बायाँ हातले नै लेख्थे । उनका साथीहरूले उनलाई ‘बाउँटे’ भनेर जिस्काउँथे । यसरी बायाँ हातले लेखेकै कारण उनी बाल्यकालबाटै हेपाइमा परेका थिए । 

मनोजका बुवा मानबहादुर सरकारी जागिरे थिए । अहेव रहेका बुवाको सदरमुकामतिर काम परिरहन्थ्यो । मनोज पनि प्रायः बुवासँगै डुलिरहन्थे । सदरमुकामका होटेलमा पनि उनले बायाँ  हातले नै खाना खान थालेपछि बुवाले दायाँ हातले खानू भन्थे । तर मनोज दायाँ हातले खान सक्दैनथे । त्यो बेला उनी बैतडीकै उदय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै थिए । सायद उमेर बढ्दै गएकाले होला साथीहरूले गिज्याउने बेला मनोज अब लाज मान्न थाले । साथी र छरछिमेकी प्रायः सबैले उनको उपनाम नै ‘बाउँटे’ राखेका थिए । आफूमाथि गरिने व्यवहारबाट वाक्क–दिक्क भएका मनोजले दायाँ हातले लेख्ने प्रयास गर्न थाले । तर सम्भव नभएपछि उनले थप प्रयास गर्नै छोडे । ‘सबैले बाउँटे भनेर गिज्याउँथे  । मैले दायाँ हातले लेख्ने प्रयास गरेँ । अप्ठ्यारो भयो लेख्नै सकिएन । अनि मैले मलाई बाउँटे भनिराख भनेर प्रयास गर्नै छोडेँ,’ मनोज भन्छन् । 

तर उनको मनभित्र भने एउटा हुटहुटी थियो । त्यति मात्रै हो, जिस्काइराख्ने साथीहरूका वचन बन्द गर्न मन थियो उनलाई । मनोजलाई बुवासँग कार्यक्रमहरूमा जाँदा दायाँ हातले खाना खाने रहर थियो । ‘मेरो कारण बुवाको पनि लाज भइरहेकोजस्तो महसुस हुन्थ्यो मलाई । यसैले गर्दा प्रयास गर्दै गएँ, अप्ठ्यारोका बीच मैले बिस्तारै दायाँ हातले लेख्न थालेँ । मैले गुरुलाई दायाँ हातले लेखेको भनेँ उहाँहरू पत्याउनु नै भएन । उहाँहरूकै अगाडि लेखेर देखाएपछि पत्याउनु भयो,’ पुराना दिन उनले सम्झिए ।

null  एकसाथ ६ कलमले उल्टो–सुल्टो

मनोज अब दुवै हातले लेख्न सक्ने भए । ‘बाउँटे’ भनेर जिस्काउने उनका साथीहरू र शिक्षक वर्ग सबै चकित परे । उनमा खुसीको सीमा रहेन । उनको मनमा कौतूहलता जाग्न थाल्यो । प्रयास गरे जे पनि सम्भव हुन्छ होला जस्तो लाग्न थाल्यो । उनका मनमा अनेक प्रश्न खेल्न थाले । हात नहुनेहरूले कसरी लेख्न सक्लान् ? भनेर उनले कुहिनाले पनि प्रयास गर्न थाले । ‘शुरूवातमा निकै अप्ठ्यारो भयो तर प्रयास गर्दै जाँदा मैले दुवै हातका कुहिनाले लेख्न सक्न थालेँ । एकपछि अर्को सफलता मिल्दै गएपछि मैले अनेक प्रयास गर्दै गएँ,’ उनी भन्छन् ।

यसरी मनोज केही गर्न खोज्नेहरूका लागि प्रेरणाका स्रोतको रुपमा लम्किए । उनको सफलता यतिमै मात्र सीमित छैन । हात नहुनेले खुट्टाले कसरी लेख्न सक्छन् भन्ने कौतुहलता मेटाउन अब उनी खुट्टाले पनि लेख्ने प्रयासमा थिए । तर त्यो त्यति सजिलै सम्भव थिएन । ‘मैले धेरै नै मेहनत गर्नुपर्याे । कठोर सङ्घर्षपछि बल्लमात्रै म सफल भएँ । अनि लाग्यो सबैजना झमककुमारी घिमिरे बन्न सक्दैनन् । तर प्रयास निरन्तर गरिरहने हो भने सफलता मिल्ने रहेछ,‘ मनोज सङ्घर्षका दिन सम्झिन्छन् ।

दुवै हात, दुवै खुट्टा र दुवै कुहिनाले लेख्न सक्ने हुँदा पनि मनोज पूर्ण सन्तुष्ट बन्न सकेनन् । तर अर्कोतिर आफूप्रति अझै विश्वास बढ्दै गयो । हातखुट्टै नभएको खण्डका कसरी लेख्न सकिन्छ, अब उनको मनमा यो कुरा खेल्न थाल्यो । उनी मुखले पनि लेख्ने प्रयास गर्न थाले । निरन्तरको मेहनतपछि अन्ततः उनी सफल भए । अहिले दुवै हातले एकसाथ उल्टो सुल्टो लेख्न सक्छन् । त्यो पनि ६ वटा कलमले सँगै । ‘शुरूवातमा जे गर्न पनि अप्ठ्यारो हुने रहेछ । हामीले प्रयास गर्न नछोड्ने हो भने अवश्य सफलता पाइने रहेछ । ‘मैले आठवटा कलमले प्रयास गरेँ त्यो सफल त भयो, तर अक्षर राम्रा भएनन् । अहिले  दुई हातमा तीन–तीनवटा कलमले सँगै उल्टो र सुल्टो लेख्न सक्छु,’ मनोजले भने ।

...अनि बने अभियन्ता

null

१० कक्षासम्म बैतडीमै अध्ययन गरेका चन्द । उच्च शिक्षा अध्ययनका लागि भने कैलाली जिल्ला झरे । कैलाली बहुमुखी क्याम्पसबाट म्यानेजमेन्टमा प्लस टू गरेका उनले धनगढीकै नास्ट कलेजबाट आईटीमा स्नातक गरे । नास्ट कलेजमा पढ्ने बेला उनी दुवै हातले लेख्थे । त्यतिमात्रै होइन एउटा हातले आफ्नो र अर्को हातले साथीको होमवर्कसम्म गर्न भ्याउँथे मनोज । ‘मेरो त्यस्तो कला देखेपछि विद्यार्थी र शिक्षक नै चकित परे । प्राध्यापक सर शिवहरि मुडभरीले यस्तो कला लुकाउनु हुन्न भनेर २०६७ सालमा धनगढीस्थित साथी होटेलमा पत्रकार सम्मेलन गर्नुभयो,’ उनले भने, ‘पत्रकारका बीच मैले सबै कला देखाएँ । नेसनल मिडियाका हेडलाइनमा मेरो नाम थियो । एकाएक मेरो चर्चा चुलियो ।’ 

पत्रकार सम्मेलन गर्नुअघिसम्म मनोज आफ्नो कलासँग आफू मात्र जानकार थिए । तर अब त्यो अवस्था रहेन । उनको क्षमता मिडियामार्फत देश–विदेश फैलिसकेको थियो । ‘झन् हौसला बढेर आयो । कलालाई नलुकाएर उजागर गर्न सबैले मलाई सुझाव दिए,’ उनी भन्छन् । 

त्यसपछि मनोज काठमाडौं गए । धनगढीमा भएको पत्रकार सम्मेलन पछि सबैबाट राम्रो शुभेच्छा पाएका उनले पत्रकार सम्मेलन गरे । त्यसपछि झन् ठूलो तहल्का मच्चियो । देश विदेशबाट उनलाई अवसर पाउन थाले । आफूभित्रको कलालाई सबैसामु बाँड्ने अभियानमा उनी लागे । 

नेपालका ७३ जिल्ला र २५ देशमा उत्प्रेरणा

अद्भुत क्षमताले मनोजको चर्चा निकै चुलियो । जन्मजात नै हात खुट्टा नभएका र नभएर पनि काम गर्न नसक्ने अवस्था र अपाङ्गता भएका व्यक्तिहरूका लागि उनी वरदान साबित भइसकेका छन् । शरीरका विभिन्न अङ्गले कसरी लेख्न सकिन्छ ? सफलताका लागि कति प्रयास आवश्यक हुन्छ ? जीवनको लक्ष्य कसरी तय गर्ने ? लगायतका विषयमा उनी उत्प्रेरणा बाँड्दै आइरहेका छन् । नेपालका ७७ जिल्लामध्ये डोल्पा, हुम्ला, ताप्लेजुङ र पाँचथरबाहेक ७३ जिल्लाका विभिन्न ठाउँमा उनले कार्यक्रम गरिसकेका छन् ।

‘बाँकी रहेका जिल्लाहरूमा पनि चाँडै कार्यक्रमहरू गर्ने मनसाय छ । स्थानीय तहसँगको सहकार्यमा आफ्नो कला देखाउँदै प्रेरणा दिने काम गरिरहेको छु । दोलखा र काठमाडौंको खगेन्द्र नवजीवन केन्द्रमा गरिएको सचेतनामूलक कार्यक्रमले निकै प्रभाव पारेको थियो । मैले कार्यक्रम गरेका स्थानका विद्यार्थीहरूले दुवै हातले लेख्न थालेको भनेर फोन आउँदा खुसी लाग्छ,’ मनोज भन्छन् ।

null

नेपालबाहेक उनले विभिन्न २५ देशमा कार्यक्रम गरिसकेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सहयोगमा हङकङ, थाइल्यान्ड, सिंगापुर, कम्बोडिया लगायतका २५ देशमा सचेतना कार्यक्रम गरिसकेको चन्द बताउँछन् । ‘विश्वका धेरै देशमा नेपाललाई चिनाउने काम गरेको छु । अपाङ्गता भएका व्यक्तिहरूका लागि निकै राम्रो प्रेरणा मिल्ने गरेको छ । मैले सिकाएपछि उहाँहरूको मुहारको खुसी देख्दा म गद्‌गद् हुन्छु,’ उनले भने । 

आफूसँग भएको सीप र ज्ञान बाँड्दै अझै धेरै देशहरूमा पुग्ने सङ्कल्प मनोजको छ । ‘एक्लो प्रयासमा यो सम्भव हुँदैन । एउटै कार्यक्रममा पाँच लाख हाराहारी खर्च हुन्छ । त्यसैले यो गरिराख्न मेरो क्षमताले मात्रै सकिँदैन । एनआरएनएको सहयोगमा कार्यक्रम गर्दै आइरहेको छु । सहयोगको अपेक्षा निरन्तर छ,’ उनी भन्छन् । उनी गिनिज बुकमा नाम लेखाउने तयारी पनि गरिरहेका छन् ।

२ विषयमा स्नातकोत्तर, पीएचडीको तयारी 

शरीरका विभिन्न अङ्गले लेखन कलामा पोख्त मनोजको परिचय यतिमा मात्रै सीमित होइन । उनी शिक्षण पेशामा पनि सक्रिय छन् । धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा उनले कम्प्युटर साइन्स अध्यापन गरे । त्यतिमात्रै होइन काठमाडौंको बसन्धरास्थित एक्टिभ कलेजमा मास्टर्स डिग्रीका विद्यार्थीलाई पनि अध्यापन गराएको अनुभव उनीसँग छ । 

आफ्नो कलामार्फत सबैलाई लोभ्याइएका मनोजले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । ‘मैले टीयूबाट पहिलो पटक समाजशास्त्र र दोस्रो पटक राजनीतिक शास्त्रमा स्नातकोत्तर गरे । समाज र राज्यव्यवस्थालाई नजिकबाट नियालिरहेको छु । देशको राजनीति सही दिशामा नहुँदा युवा पलायन बढी रहेको छ,’ उनी भन्छन् ।

राजनीतिक शास्त्रमा विद्यावारिधि (पीएचडी) गर्ने तयारीमा उनी छन् । ‘मलाई विदेशबाट पनि अवसरहरू धेरै आएका छन् । राम्रो सेवा सुविधासहित बोलाइएको पनि छ, तर विदेश पलायन हुने मेरो कुनै मनसाय छैन । मलाई नेपालमै केही गर्नुछ नेपालकै लागि केही गर्नु छ । राजनीतिक शास्त्रमा पीएचडी गर्ने तयारीमा छु,’ उनले भने ।

नेपालका राजनीतिज्ञहरूले सही ढङ्गले काम नगर्दा युवा पलायन बढिरहेको उनी बताउँछन् । ‘विदेशमा काम वा अध्ययनका लागि जानेहरू फर्किएका छैनन् । खाडीमुलकमै यस्तो आकर्षण छ । अष्ट्रेलिया, अमेरिका जानेहरू त नेपाल फर्किएर आउनेवाला छैनन् । निराशा यस्तो बढेको छ कि कुनै देशले भिजा फ्री गर्यो भने नेपाल रित्तिने अवस्थामा छ,’ उनी भन्छन् ।

null

कलासँगै कर्म, ३५ जनालाई रोजगारी 

अद्भूत  कलाका धनी मनोजले नेपाल सरकारबाट विभिन्न पटक पदक तथा पुरस्कार पाइसकेका छन् । ०७२–७३ मा पर्यटन मन्त्रालयले तीन लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको सम्झना उनका मानसपटलमा ताजा छ । योबाहेक सुदूरपश्चिम प्रदेश सरकारअन्तरगर्तको युवा परिषद्ले पनि उनलाई सम्मान गरेको छ । ‘सम्मान, पुरस्कार र नागरिक अभिनन्दन कति भए हिसाब–किताब नै छैन । जहाँ–कार्यक्रम त्यही सम्मान हुन्छ,’ उनले भने ।

आफ्नो कलालाई उनले मुख्य पेशा भने बनाएका छैनन् । कला र आर्थिक पाटोबारे उनी भन्छन्, ‘कार्यक्रम गर्दा मैले आफ्नो मूल्य तोकेको छैन । धेरै कार्यक्रम निःशुल्क पनि गरेको छु । प्रायः मेरा कार्यक्रमहरू स्कूल र कलेजलक्षित हुन्छन् । व्यवस्थापन टीमले एउटै कार्यक्रम गरेबापत २५ हजारभन्दा बढी रकम दिएका उदाहरणहरू पनि छन् । मैले आफ्नो समयको मूल्य तोकेको भए त अहिले सम्म धेरै आम्दानी भइसक्थ्यो । तर आयोजकहरूले स्वेच्छाले सहयोग गरिरहेका हुन्छन्। यसमा म सन्तुष्ट छु ।’

आर्थिक उपार्जन र शैक्षिक जागरणका लागि मनोजले काठमाडौंको बागबजारमा कन्सल्टेन्सी सञ्चालन गरिरहेका छन् । त्यसमा उनकी अर्धाङ्गिनीले पनि सघाइरहेकी छिन् । ०७४ सालबाट कन्सल्टेन्सी सञ्चालन गरिरहेका उनले ३५ जनालाई प्रत्यक्षरुपमा रोजगारी दिइरहेका छन् भने पाँच हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सेवा प्रदान गरिसकेका छन् ।

प्रतिक्रिया