२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
शुक्रबार २६, साउन २०८० १०:२१
सिगासमा भदौ ७ गते नै गौरा पर्व, कतै चहलपहल, कतै अन्योल

 बैतडी : बैतडीको सिगास गाउँपालिकामा गौरा पर्व भदौ ७ गते मनाइने भएको छ । यँहि साउन २ गते नेपाल पञ्चाङ्गग निर्णयका मितिले एक विज्ञप्ती सार्वजनीक गर्दै ४ गते बिरुडा पञ्चमी र भदौ ७ गते नै गौरा पर्व रहेको जानकारी गराएको थियो । मानसखण्ड पञ्चाङ्गमा भदौ २१ गते गौरा पर्व रहेको सार्वजनिक भएपछि अन्योलता बढेको थियो ।

यस वर्षको गौरा पर्व भदौ ७ गते नै मनाउन उपयुक्त भएको र ७ गते नै गौरा पर्व मनाउनेमा ढुक्क हुन पण्डित ईश्वर प्रसाद अवस्थीले बताउनुभयो । ‘बरु २१ गते गौरा पर्व मनाउँदा हानी नोक्सानीको योग रहेकाले उपयुक्त छैन, अधिकांश ज्योतिषको भनाइ रहेको छ ।

सदियौ देखि एक – आपसमा भाईचारा स्थापना गरी धार्मिक, सास्कृतिक पहिचान बोकेको गौरा पर्व मनाईने परम्परा र दिन एउटै होस भन्ने उदेश्यले पञ्चांग निर्णायक समितिले गौरा पर्व मनाइने दिन भदौ ७ गते सार्वजनिक गरेकोमा सोही दिनलाइ गौरा पर्व मनाइने दिन उपयुक्त ठानिएको सिगासका अधिकांश ब्राह्मणको भनाइ रहेको छ ।

गौरापर्व सुदूरपश्चिम र कर्णाली प्रदेशको पहिचानका रुपमा रहेको छ । भारतको कुमाउ र गडवालमा समेत यो पर्व मनाइन्छ ।

यद्यपि सुदूरपश्चिमा भने गौरा कहिले मनाउने भन्ने विषयमा लामो समयदेखि अन्योल छ । यस क्षेत्रका केही ज्योतिषी जनैपूर्णिमा पछि मात्र दुर्वाधागो लगाउनुपर्ने तर्क गर्छन् भने अर्कोथरी अगस्त्यको उदयपछि गौरा मनाउनु हुँदैन भन्ने तर्क गर्दै आएका छन् ।

अगस्त्यको उदय भारतको उत्तर प्रदेश काशी बनारसमा भदौ १५ गते हुने, नेपालको उत्तरभाग सुदूरपश्चिम प्रदेश लगायतमा १९ गते राति ४ बजे उदय हुने हुँदा दुर्वाको पूजा गर्न नमिल्ने ज्योतिषहरूले बताउँदै आएका छन् । गौरा पर्व भनेको दुर्वाष्टमीसँग जोडिएको पर्व पनि हो । यदि कसैले यसमा दुर्वाष्टमी पूजा गरे पुत्र नाश हुने, नराम्रो फल मिल्ने उल्लेख छ । यी सबै हेरेर भदौ ७ गते नै गौरा पर्व राखिएको पञ्चांग निर्णायक समितिले जनाएको छ ।

तर सुदूरपश्चिमका ज्योतिषीहरूले नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णयभन्दा फरक मत राखेका छन् । भदौ ७ गते साउन शुक्ल पक्षको अष्टमी तिथि परेको, पुत्रदा एकादशी अर्थात् गौरे एकादशी र जनैपूर्णिमा पनि ७ गते पछि परेकाले गौरा पर्व भाद्र कृष्णाष्टमी अर्थात् भदौ २१ गते मान्नुपर्ने तर्क अगाडि सारिएको छ । पञ्चाङ्ग निर्णयक समितिले चित्त बुझ्ने काम गरेन । तिथि र चन्द्रमानको हिसाबले साउनमा मनाउनु भन्ने छैन । झापामा १९ गते, काठमाडौँमा २० गते र सुप प्रदेशमा २१ गते अगस्त्यको उदय हुने र गौरा सुप प्रदेशको मौलिक चाड भएकाले यहाँको समय मौलिकता हेरेर २१ गते गौरा मनाउनु पर्ने ज्योतिषको भनाइ छ ।

स्थानीय चाडपर्वका तिथिमिति निर्धारण गर्दा स्थानीय अक्षांश र देशान्तर अनुसार गणितीय हिसाब गर्नुपर्ने, विगतको स्थापित नजिर र निर्णयसिन्धु तथा धर्मसिन्धुलगायतका ग्रन्थका आधारमा सुदूरपश्चिममा २१ गते नै गौरा पर्व मान्नुपर्ने अधिकांश ज्योतिषको भनाइ छ ‌ । ज्योतिषका अनुसार अगस्त्य अगस्त ऋषिको नामाङ्कित एक तारा हो । यो तारा भदौ २१ गते बिहान उदय हुने हो । अगस्त्य उदय भएको दिन दुर्वाष्टमी पूजा गर्न मिल्छ । त्यसको दोस्रो दिन मिल्दैन ।

२१ गते गौरा ल्याएर त्यसै दिन दुर्वाष्टमी पूजा गर्नुपर्ने निर्णयसिन्धुमा उल्लेख छ । २२ गते पूजा दुर्वाष्टमी नगर्नु भनेको छ । यो वर्ष अधिक मास परेकाले भदौ ७ र २१ मध्ये कुन दिन गौरा पर्व हो भनेर सुदूरपश्चिममा वादविवाद चुलिएको हो । ज्योतिषीहरूका बिचमा देखिएको मतभेदले यो वर्ष केही स्थानमा भदौ ७ र केही स्थानमा भदौ २१ गते गौरा पर्व मनाइने तयारी भएको छ ।

प्रतिक्रिया