२०८१ जेठ ०३ गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा छैनन् अपांगमैत्री संरचना, कानुनमा राम्रो व्यवस्था तर सास्ति कायमै

SansherOnline SansherOnline
शुक्रबार ०८, मङि्सर २०८० ०४:५९
बैतडीमा छैनन् अपांगमैत्री संरचना, कानुनमा राम्रो व्यवस्था तर सास्ति कायमै

गौरव चन्द - बैतडी : सार्वजनिकस्थलमा आउजाउका लागि अपाङ्गमैत्री संरचना बनाउनुपर्ने कानुनी व्यवस्था छ । तर बैतडीका अधिकांश सरकारी कार्यालय अपाङ्गमैत्री नभएका कारण समस्या हुने गरेको गुनासो अपाङ्गता भएकाहरूको छ । बैतडीका कुनै पनि स्थानीय तहका भवन अपांगमैत्री नभएको बैतडी जिल्ला अपाङ्ग सघंका अध्यक्ष लोकेन्द्र चन्दले बताए । 

सेवा प्रदायक निकाय समक्ष पुग्न नसक्दा अपांगता भएका व्यक्तिका समस्या सरोकारवाला निकायसामु नपुगेको उनले बताए । ‘अपांगतामैत्री संरचना नहुँदा हामी सरोकारवाला व्यक्तिलाई भेट्नै पाउँदैनौँ । हाम्रो आवाज सरोकारवाला निकायसँग नपुग्दा हाम्रा लागि आउने बजेट कता खर्च गर्छन् । केही थाहा छैन् । आएको बजेट उनीहरूकै लागी पुग्दैन् होला हामीलाई के दिन्थे ?’, उनले भने । हरेक भौतिक संरचनाहरू अपांगमैत्री बन्नुपर्नेमा उनको जोड रहेको छ ।

सरकारी संरचना अपांगमैत्री नबनेको खण्डमा योजना पास नगर्ने नियम भए पनि बैतडीका कुनै सरकारी संरचना अपांगमैत्री नबन्नु दुःखको कुरा भएको जिल्ला अपाङ्ग सघंका पूर्व सदस्य विक्रम महाराले बताए ।

बैतडीमा बनेका सरकारी भवन, सार्वजनिक शौचालय, धारा, बाटो लगायतका कुनै पनि संरचना अपांगमैत्री नभएको उनले बताए । 

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन,२०७४ अनुसार अपाङ्गता भएका व्यक्तिलाई शैक्षिक संस्था, आवास, कार्यस्थल, भवन, सडक, यातायात, लगायत अन्य सेवा सुविधाहरूमा सजिलै पुग्ने अधिकार हुने भनिएको छ । तर कानुनमा राम्रो व्यवस्था भए पनि  सरकारी संरचना नै अपाङ्गमैत्री नहुँदा सेवाग्राहीले अझै सास्ति व्यहोर्नुपरेको छ ।

 

प्रतिक्रिया