बैतडी : न्युनतम सेवा मापदण्डमा बैतडी जिल्ला अस्पताल देशकै उत्कृष्ट अस्पताल बनेको छ। स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा गरेको अनुगमन मूल्यांकन अनुसार बैतडी जिल्ला अस्पताल देशभरीका जिल्ला अस्पतालहरु भन्दा उत्कृष्ट देखिएको हो ।
जिल्ला अस्पताल बैतडी ९५ प्रतिशत अंकसहित देशकै उत्कृष्ट अस्पताल बनेको क्षेत्रिय स्वास्थ्य निर्देशनालयका डाक्टर निराजन श्रेष्टले बताउनुभयो । उहाँका अनुसार देशका प्राइमरी अस्पतालहरुमध्ये बैतडी जिल्ला अस्पताल पहिलो बनेको हो ।
यही वैशाख ३० र ३१ गते क्षेत्रीय स्वास्थ्य निर्देसनालय र निक साइमन इन्स्टिच्युट (एनएसआई) ले जिल्ला अस्पताल बैतडीको अनुगमन तथा मूल्यांकन गरेको थियो।
सो क्रममा बैतडी जिल्ला अस्पतालले केही नमुना अभ्याससहित सर्वाधिक अंक प्राप्त गरेर देशकै उत्कृष्ट अस्पताल बनेको श्रेष्ठले बताउनुभयो। यस अघी दमौली अस्पताल तनहुँ पहिलो थियो । यसपटक बैतडी अस्पतालले दमौलीलाई उछिनेर पहिलो बनेको हो ।
गत वर्ष ८९ प्रतिशत अंक प्राप्त गरेको अस्पतालले यो वर्ष ६ प्रतिशत सुधार गर्दै ९५ प्रतिशत अंक प्राप्त गरेको हो। अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका प्राविधिक सुविधा, जनशक्ति व्यवस्थापन, भौतिक अवस्थाजस्ता सूचकका आधारमा मूल्यांकन गर्दै अंक प्रदान गरिन्छ। अस्पतालले गत वर्षदेखि नयाँ भवनबाट सेवा दिन सुरु गरेको थियो।
त्यसपछि जनशक्ति र व्यवस्थापनमा मिहिनेत गर्दा देशकै उत्कृष्ट अस्पताल बनेको अस्पताल प्रमुख डाक्टर दीपेश श्रेष्ठले बताउनुभयो। देशभरिका अस्पतालको अनुगनमन तथा मूल्यांकनका क्रममा दमौली अस्पताल तनहुँले ९२ प्रतिशत अंक प्राप्त गर्दै दोस्रो र चौतारा अस्पताल सिन्धुपाल्चोकले ८९ प्रतिशत अंक ल्याएर तेस्रो भएको छ।
अछाम अस्पताल र दैलेख अस्पतालले क्रमशः ८७ प्रतिशत र ८६ प्रतिशत अंक ल्याएर चौथो तथा पाँचौँ स्थान प्राप्त गरेका छन् । जिल्ला अस्पताल बैतडीमा परामर्श सेवा, छात्रवृत्ति करार सेवामा पाँचजना विशेषज्ञ डाक्टरसहित अहिले १३ जना डाक्टर कार्यरत रहेका छन्।
तरबन्दी स्वीकृत नभएपनि अहिले जिल्ला अस्पताल बैतडीमा ४९ बेड सञ्चालनमा रहेको डाक्टर श्रेष्ठले बताउनुभयो। देशभरिकै उत्कृष्ट अस्पताल भए पनि यहाँ अझै सुरक्षा प्रवन्ध, टोकन प्रणाली लागू गर्ने, निःशुल्क औषधिहरूको लिस्ट राख्नेजस्ता कामहरु सुरु हुन सकेका छैनन् । उक्त कुरा सुधारका लागि निर्देशनालयले सुझाव समेत दिएको छ।
जिल्ला अस्पताल बैतडीमा राम्रो सेवा पाएपछि सीमावर्ती भारतको पिथौरागढ उपचार गर्न जाने बिरामीको संख्यामा पनि कमी आएको छ भने दार्चुला लगायत यहाँका पहाडी जिल्लाहरुबाट समेत विरामीहरु आउन थालेका छन् ।
अस्पताल व्यवस्थापन समिती र समग्र अस्पताल टीमको लगनशीलताका कारण अहिले बैतडी अस्पतालले फड्को मारेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टको भनाई छ । उहाँले भन्नुभयो ‘अझै जिल्ला अस्पताल बैतडीको सेवा सुदृढीकरणमा आफुहरु लागिपर्ने छौँ ।’
अस्पतालको नयाँ भवन बनेपनि ५० सैय्याको दरबन्दी स्वीकृत नहुँदा समस्या भने रहेको उहाँको भनाई छ ।
प्रतिक्रिया