बैतडी : झुलाघाटस्थित महाकाली नदी माथि मोटरेवल पुल निर्माण हुने भएको छ। नेपाल र भारत जोड्न महाकाली नदी माथि निर्माण हुने उक्त पुल क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ।
उत्तराखण्डको अल्मोडा र पिथौरागढ जिल्लाका प्राबिधिकहरुले हिजो स्थलगत निरीक्षण गरेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले बताए । इन्जिनियर ओम प्रकाश नेतृत्वको प्राबिधिक टोलीले नेपाल र भारत दुबै तर्फको स्थलगत निरीक्षण गरेको हो।
यो पुल भारत सरकारको आर्थिक सहयोगमा बन्ने छ। पुल निर्माण हुने चर्चा सन् २००६ बाटै सुरु भएको थियो। त्यतिबेला अहिले झोलुंगे पुल रहेको क्षेत्रमा १ सय ५ मिटर लम्बाइको मोटरेवल पुल बनाउने योजना थियो। तर, पञ्चेश्वर परियोजनाको डुबान क्षेत्रमा पर्ने भन्दै काम अगाडि बढेन।
अहिले नेपाल र भारतका नागरिक झोलुंगे पुल भएर आउजाउ गर्छन। सुगौली सन्धिताका बनेको यो पुल पनि जीर्ण हुँदै गएको छ। भारतीय प्रशासनको आदेशमा अल्मोडाका इन्जिनियर ओम प्रकाशले हिजो स्थलगत निरीक्षण गरेपछि पुल बन्नेमा स्थानीय आशावादी भएका छन्।
अब बन्ने बन्ने मोटरेबल पुल भारततर्फ एसएसबी क्याम्प भन्दामाथि र नेपालतर्फ मौराभिरमा रहेको सशस्त्र प्रहरीको बीओपी नजिक पुल निर्माण स्थलको अवलोकन गरिएको हो।
भारतीय प्राबिधिक संजय बर्माका अनुसार सन् २००६ मा पञ्चेश्वर परियोजनाको डुबान क्षेत्र भएकाले झुलापुल नजिक पुल निर्माणका लागि नेपाल सरकारले अनुमति दिएन। २०१७ मा पुल निर्माणस्थल परिवर्तन गरियो। अहिले बन्ने भनेको यो पुलको लम्बाई ५ सय मिटर हुनेछ।
लोक निर्माण विभागका अर्का कर्मचारी एमसी तिवारीका अनुसार यसै साता झुलाघाट मोटरपुलको स्टीमेट शासनलाई पठाइनेछ। मोटर पुल निर्माणका लागि करिब ४ सय करोड लागत अनुमान गरिएको छ। त्यसअघिको सर्भे कार्य, डीपीआर र मुआब्जाका लागि बेग्लै २० करोड रुपैयाँ लाग्ने अनुमान छ।
भारतीय टोलीले झुलाघाटस्थित झोलुंगे पुलको पनि निरीक्षण गरे। पुलमा प्रयोग गरिएका काठ सड्दै गएको र घाँस तथा बुट्यान उम्रिएर पुल जीर्ण बन्दै गएको प्राबिधिकहरुले बताए। लगत्तै मरम्मतको कार्य सुरु गरिने पनि उनीहरुको भनाई छ।
प्रतिक्रिया