२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बर्थिङ सेन्टरमा लगाएको ताला ४ वर्षपछि खुल्यो

SansherOnline SansherOnline
मङ्गलबार २८, चैत २०७९ ०९:३६
बर्थिङ सेन्टरमा लगाएको ताला ४ वर्षपछि खुल्यो

 

बझाङ : खप्तडछान्ना गाउँपालिका–६ बयानामा बिवादका कारण ४ वर्षदेखि बन्द बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। गाउँपालिकाको १२ लाख ३१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त बर्थिङ सेन्टर उद्घाटन नहँुदै बिवादका कारण बन्द भएको थियो। 

गाउँमा छलफल नै नगरेर जानकारी बिना नियम विपरीत बर्थिङ सेन्टर सञ्चालन गरेको र जग्गादातालाई कार्यालय सहयोगी राख्नुपर्ने माग राख्दै २०७६ कार्तिक महिनामा बर्थिङ सेन्टरमा तालाबन्दी गरिएको थियो। 

सञ्चालनको तयारीमा रहेको बर्थिङ सेन्टरमा तालाबन्दी गरेपछि लाखौं रकमका भौतिक तथा स्वास्थ्य सामाग्री प्रयोगविहीन बन्नुका साथै बर्थिङ सेन्टरको झ्याल ढोकासमेत तोडफोड भएका थिए। 

बर्थिङ सेन्टर निर्माण भएपछि जम्मा दुई दिन मात्रै सञ्चालनमा आएको थियो। उद्घाटन र औषधि खरिद गरी सञ्चालनमा आएको सेन्टरमा तेस्रो दिनदेखि जग्गादाता झुरु थापाले ताला लगाएका थिए।

निवर्तमान महिला सदस्य कृष्णादेवि थापाका अनुसार बर्थिङ सेन्टर बन्द भएपछि गाउँका गर्भवती र सुत्केरी महिलाहरु मारमा परेका छन्। बर्थिङ सेन्टर बन्द भए यता गाउँका एक दर्जन बढी गर्भवतीले बीच बाटोमै बच्चा जन्माएको थापाले बताइन्।

लामो समयदेखि गाउँमा बर्थिङ सेन्टर अलपत्र परेको र सुत्केरी महिलाको समस्या यथावत रहेको गुनासो आएपछि गाउँपालिकाले सोमबार स्थानीयसँग समन्वय गरेर बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

सोमबार खप्तडछान्ना गाउँपालिका–६ का वडाध्यक्ष तेज बहादुर खड्काको अध्यक्षतामा बर्थिङ सेन्टर सञ्चालनको विषयमा छलफल गरिएको थियो। 

बर्थिङ सेन्टर निर्माण गर्नुअघि जग्गादाताको घरबाट एक जनालाई कर्मचारी बनाउने सहमति भएकाले उक्त सहमति अनुसार नै जग्गादाता झुरु थापाको घरबाट एक जनालाई कर्मचारी बनाउने निर्णय गरिएपछि ताला खोलिएको खप्तडछान्ना गाउँपालिकाका उपाध्यक्ष विष्णु थापाले बताए। 

खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णु कुमार थापा, सम्पूर्ण वडाका वडाध्यक्षहरु र स्थानीयको रहोवरमा बयाना बर्थिङ सेन्टर सञ्चालन गर्ने सहमति भएको वडाध्यक्ष तेज बहादुर खड्काले जानकारी दिए।

गाउँमा सुत्केरी व्यथा लागेका महिलालाई बोकेर टाढा रहेको स्वास्थ्य संस्थामा लिनुपर्ने बाध्यता रहेकोमा अब गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएपछि सहज हुने स्थानीयले अपेक्षा गरेका छन्। सीमारेखा

प्रतिक्रिया