२०८१ असोज ०३ गते बिहिबार
ट्रेन्डिङ

पाटन विमानस्थल फेरि सञ्चालन गर्न १७ करोड खर्च, हवाई उडान ठप्प

SansherOnline SansherOnline
सोमबार १३, चैत २०७९ ०७:५२
पाटन विमानस्थल फेरि सञ्चालन गर्न १७ करोड खर्च, हवाई उडान ठप्प

 

बैतडी । बैतडीको पाटन विमानस्थल फेरि सञ्चालन गर्न १७ करोड रुपियाँ खर्च गरेर धावन मार्ग र टर्मिनल भवन चिटिक्क बनाएपछि हवाई उडान ठप्प भएको छ । विमानस्थल कालोपत्रेपछि २०७७ असोज १७ गते तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले पाटन विमानस्थलको उद्घाटन गरे । उद्घाटनपछि हप्ताको एक दिन विमान उडे पनि २०७८ चैत १० गतेयता पाटन विमानस्थल सुनसान बनेको छ ।

धावन मार्ग र टर्मिनल भवन चिटिक्क बनेयता एक वर्षसम्म बैतडीको आकाशमा विमान देखा नपरेको स्थानीय वसन्त विष्टले बताए । उडान बन्द हुँदा विमान चढ्ने धोको अधुरै रहेको उनले बताए । हवाई उडान बन्द भएको एक वर्षको अवधिमा यहाँ पाँच करोड ६२ लाख रुपियाँ खर्च गरेर विमानस्थलको नयाँ टर्मिलन भवनको काम सकेर रङरोगनपछि चिटिक्क पारिएको छ । कन्ट्रोल टावरको निर्माण अहिले पनि चलिरहेको इन्जिनियर कवीन्द्र वज्राचार्यले जानकारी दिए ।

पाटनमा ०३६ देखि ०५२ सम्म कच्ची विमानस्थलमै करिब १६ वर्ष हवाई उडान भयो । द्वन्द्वपछि यो विमानस्थल २५ वर्षसम्म ठप्प रह्यो । विमानस्थल सञ्चालन गर्न करोडौँ रुपियाँ खर्च भए पनि हवाई उडान भने ठप्प हुँदा बैतडीवासी निराश बनेका छन् । २० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको पाटन विमानस्थल सुदूरपश्चिमको प्रदेश राजधानी धनगढीबाट १७ मिनेटको हवाई दूरी छ ।

उद्घाटनपछि करिब एक वर्षसम्म हप्ताको एक दिन धनगढी–बैतडी–धनगढी उडान भयो। १७ मिनेटको हवाई दूरीमा यात्रुले करिब पाँच हजार रुपियाँ भाडा तिरेर यात्रा गरे । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियो। भाडा महँगो भएको यात्रुले गुनासो गर्दै आइरहेका थिए। गुनासोकै बीच एक उडान बन्द भएको छ ।

महाकाली अञ्चलको पुरानो सदरमुकामसमेत रहेको बैतडीको पाटन विमानस्थल पहाडी जिल्लाको सम्पर्क बिन्दुसमेत हो । देशका १० नयाँ सहरमध्ये बैतडीको पाटन नयाँ सहर आयोजनाको कार्यालय स्थापना भएको छ । राज्यले करोडौँ रुपियाँ खर्च गरेपछि उडान नियमित गरेर बैतडीवासीले सहुलियत दरमा सेवा पाउनुपर्ने स्थानीयवासीले माग गरेका छन् । सरकारले सरकारी स्वामित्वको हवाई सेवा सञ्चालनका लागि पहल गरेर हवाई सेवा दिनुपर्ने नागरिक समाज बैतडीका प्रकाश चन्दले माग राखे ।

हवाई सेवा बन्द हुँदा जिल्लाबाट आकस्मिक रूपमा बिरामी भएकालाई सुविधा सम्पन्न अस्पतालमा लैजान समस्या भएको स्थानीय जयराम भुलले बताए । नियमित हवाई उडानले सहज सेवाका साथै यहाँको व्यापार व्यवसाय प्रवद्र्धन हुने आशा पलाए पनि अहिले निराश हुनु परेको उनले बताए । चुनावका बेला सबै राजनीतिक दलले पाटन विमानस्थललाई भोट तान्ने माध्यम बनाए पनि हवाई उडानमा कुनै पनि दलका नेताले चासो नदिएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया