२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

बैतडीका मनोज चन्दमा मुख, कुहिनो र खुट्टाले मात्रै होईन सात अङ्गले एकैसाथ लेख्ने क्षमता

SansherOnline SansherOnline
सोमबार ०८, फागुन २०७९ ०६:११
बैतडीका मनोज चन्दमा मुख, कुहिनो र खुट्टाले मात्रै होईन सात अङ्गले एकैसाथ लेख्ने क्षमता

बैतडी : सामान्यतया मानिसले एउटा हातले एउटा कलम समातेर एउटा विषयमा लेख्न सक्छन् । तर बैतडीका मनोज चन्द दुई हातले छवटा कलम समातेर एकैपटक उल्टो र सुल्टो शब्द लेख्न सक्नुहुन्छ । यति मात्रै नभई, उहाँले दुवै हातले उल्टो–सुल्टो, मुख, दुवै कुहिनो र दुवै खुट्टाले समेत लेख्दै आउनुभएको छ । 
उहाँले आफ्नो अद्भुत क्षमता नेपालका ७१ जिल्लाका तीन हजार विद्यालय, एसिया र मध्यपूर्वका २५ देश भ्रमण गरेर विश्वलाई चकित पार्दै मान्छेले गर्न नसक्ने असम्भव केही छैन भन्ने कुरा प्रमाणित गरिसक्नुभएको छ । मनोजले आफ्नो प्रतिभा अपाङ्गता भएका व्यक्तिका लागि वरदान भएको बताउनुभयो ।

“अधिकांशले हात महìवपूर्ण हो भनेर सोच्ने गर्छन् । हात नचले जीवन नै चल्न सक्दैन भन्ने पनि ठान्छन्,” उहाँले भन्नुभयो, “हात हुनेले दुवै हातले लेख्न सक्छन् । त्योबाहेक खुट्टा, कुहिनो र मुखले पनि लेख्न सकिन्छ भन्ने मैले विश्वलाई प्रमाणित गरेर देखाइसकेको छु ।” 

राज्यले आफ्नो प्रतिभाको उचित प्रयोग गर्न नसके पनि आफूले विद्यालयमा निःशुल्क काम गर्दै आएको उहाँले बताउनुभयो । अहिलेसम्म नेपालका ७१ जिल्ला पुगेर तीन हजार विद्यालयमा विद्यार्थीलाई निःशुल्क रूपमा उत्पे्ररणा कक्षा दिएको उहाँले बताउनुभयो । तत्कालीन राष्ट्रपति रामवरण यादवले शीतलनिवासमा बोलाउनुभएर थप हौसला दिनुभएपछि विश्वका २५ वटा देश घुमेको उहाँले बताउनुभयो । 

कम्प्युटर विषयमा स्नातक र समाजशास्त्र तथा राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्मको पढाइ पूरा गरिसक्नुभएका मनोजले जागिर खाने सोच नभएको बताउनुभयो । राज्यले सहयोग गरेमा शारीरिक कारणले भिन्न क्षमता भएका नेपालीलाई आफूले शरीरका सातवटा अङ्ग प्रयोग गरेर लेख्न, पढ्न सक्नेगरी प्रोत्साहन गर्ने धोको रहेको उहाँले बताउनुभयो । 

बैतडीको दुर्गम सिगास गाउँपालिका–९, चौखाममा २०४४ सालमा जन्मनुभएका मनोजले घण्टौँ पैदल हिँडेर विद्यालय जाने उमेरदेखि नै दुई हातले लेख्न थाल्नुभएको थियो । समाजले बायाँ हातले लेख्ने मान्छेलाई अलच्छिन भन्थे । कक्षा ५ को पढाइ पूरा गरेर उदय माध्यमिक विद्यालयमा पढ्न जाँदा सबैले बौहाते ९बायाँहाते० भनेर गिज्याउन थालेपछि दायाँ हातले लेख्ने प्रयास गर्न थालेको उहाँले सुनाउनुभयो । 

उहाँले भन्नुभयो, “साथीभाइ र समाजले गिज्याउन थालेपछि मभित्र विद्रोह जन्म्यो । दायाँ हातले पनि लेख्न सक्छु भनेर प्रमाणित गर्न चाहेँ । त्यसपछि दुवै हातले लेख्न सक्ने भएँ । पछि दुवै हातले एकैचोटि लेख्ने प्रयास गर्न थालेँ । प्रयास गर्दै जाँदा अहिले दुवै हातमा तीन–तीनवटा कलम गरी छवटा कलमले एकैचोटि दुवै हातले उल्टो र सुल्टो अक्षर लेख्न सक्छु । अहिले म शरीरका सातवटा अङ्गले फरर्र पढ्नेगरी सरर्र लेख्न सक्छु ।” 

उहाँलाई साथीहरूले गिनिजबुकमा नाम लेखाउन हौस्याउँदै आएका छन् । उहाँले भन्नुभयो, “जन्मजात सबैले हातखुट्टा लिएरै जन्मनुपर्छ भन्ने छैन । कुनै मानिस दुर्घटना वा जन्मजात हातखुट्टा गुमाउन वा अङ्गभङ्ग हुन सक्छन् । त्यस्ता मानिस पढाइबाट वञ्चित भएका पनि छन् । उनीहरूलाई मुख, कुहिनो वा खुट्टाले लेख्न सघाउने सोचमा छु । दुवै हात भएकालाई एकैचोटि लेख्न सक्ने बनाउन सक्छु ।”  गोरखापत्र

प्रतिक्रिया