२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

बैतडीकाे विकासका लागि वहस

SansherOnline SansherOnline
शनिबार ०६, फागुन २०७९ ०८:२१
बैतडीकाे विकासका लागि वहस

बैतडी : बैतडीको विकास र सम्वृद्धिका आधारका विषयमा शनिबार सरोकारवालाबीच अन्तरक्रिया गरिएको  छ । बैतडीमा उद्योग, धार्मिक पर्यटन लगायत विकास र सम्वृद्धिका तमाम आधार भएपनि यसको बिषयमा सम्बोधन नभएको सरोकारवालाहरुले बताएका छन् । 

जिल्ला समन्वय समिति बैतडीको सहकार्य र पश्चिम टुडे राष्ट्रिय दैनिकको आयोजनामा भएको अन्तरक्रियामा बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले झुलाघाटमा मोटरेबल पुल बन्न सकेमा यो क्षेत्रको विकासको ढोका खुल्ने बताए । विकासका तमाम आधारहरु भएपनि राज्य पक्षको ध्यान नगएको उनले बताए । दुई बर्ष अगाडि ४० लाख रुपैंया खर्च गरेर प्रदेश सरकारले यो क्षेत्रमा भएको सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन बनाएको भएपनि त्यसको कार्यान्वयन नभएको उनले बताए । विज्ञहरुको टोलीले बनाएको प्रतिवेदनमा  बैतडीमा चुनढुंगाको प्रशस्त सम्भावना रहेको उल्लेख गरेको भएपनि त्यसको कार्यान्वयन नभएको भट्टले बताए । 

बैतडीमा फस्फोरस, फलामखानी,चुनढुंगा लगायत बहुमुल्य जडीबुटी उद्योगको सम्भावना रहेको भएपनि राज्यले त्यस्ता बिषयहरुको खोजी नगरेको पत्रकार गोकर्ण दयालले बताए । 

कार्यक्रममा बैतडीको फस्फोरस खानीदेखि फलामखानी, चुनढुङ्गा, क्यान्सर रोग निको पार्ने बहुमुल्य जडिबुटी उद्योगको संभावना भए पनि उद्योग सञ्चालन गर्न राज्यबाट सम्बोधन नभएको सरोकारवालाले बताएका छन् । 

नागरिक समाज बैतडीका सचिव प्रकाश चन्दले शिक्षा,स्वास्थ्य, खानेपानी र रोजगारी जस्ता आधारभूत कुरामा नागरिकको पहुँच नहुँदा समस्या भएको बताए । विकासका सम्भवना भएपनि नेता र कार्यकर्तामुखी बजेटका कारण नागरिक समस्या समाधान नभएका उनले बताए । विकासका लागि समन्वय र साझेदारीको आवश्यकता रहेको भएपनि त्यसो पनि हुन नसकेको उनले औंल्याए ।  

आधारभूत स्वास्थ्य हेर्ने जिम्मा स्थानीय तहको भएपनि भने अनुसार स्थानीय सरकारहरुले स्वास्थ्य सेवा प्रदान गर्न नसकेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । अझै पनि स्वास्थ्यका लागि संघीय सरकारको मुख ताक्ने प्रवृति रहेको उनले बताए । 

जिल्ला अस्पताल बैतडीका डाक्टर सुनिल जैसवालले अहिले पनि जिल्ला अस्पताल करार चिकित्सकको भरमा सञ्चालन भइरहेको बताए । 

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले अनुत्पादक क्षेत्रमा राज्यको लगानि भइरहेको बताए । यो क्षेत्रमा भएको वनजंगलबाट लाभ लिने प्रकारका कार्यक्रम राज्यले सञ्चालन गर्न नसकेको उनको भनाइ छ । 

 रेडियो सनशेर एफ.एमका सञ्चालक नरेन्द्रप्रसाद भट्टले यो क्षेत्रको विकासका लागि सबै तहका सरकारले समन्वय गर्नुपर्ने बताए । पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती आयोजना लगायतका महत्वपूर्ण योजनाहरुको चर्चा चलेपनि कार्यान्वयनमा नआउँदा निराशा छाएको उनले बताए । 

अन्तरक्रियामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले स्थानीय सरकारहरुले नागरिकको आवश्यता अनुसारको काम अझै गर्न नसकेको बताएका छन् । 

प्रतिक्रिया