२०८१ जेठ १४ गते सोमबार
ट्रेन्डिङ

साथीले दुई दिन बास बस्न कोठा नदिएपछि...

SansherOnline SansherOnline
बुधबार ०६, भदौ २०८० ०२:२०
साथीले दुई दिन बास बस्न कोठा नदिएपछि...

जनक सिंह भाट : साउन महिनाको कुरा हो। कञ्चनपुरको महेन्द्रनगरमा जाने काम परेको थियो। पहाडी जिल्ला बैतडी मेरो घरबाट बसमा करिब ११ घण्टा हिँडेर पुगिने तराई जिल्ला कञ्चनपुरमा घुम्ने मेरो धोको समेत थियो। कञ्चनपुरको दोधरा चाँदनी, बनवासा पुल त्यसैगरी पोखरी कटेजजस्ता नयाँ-नयाँ ठाउँमा मेरो घुम्ने साह्रै रहर थियो। त्यो रहर एकदिन पूरा हुने मौका मेरै नजिक आइपुग्यो।

एकदिनको कुरा हो। मिडियाबाट  एक जना सरले मलाई फोन गरेर भेट्न कञ्चनपुर बोलायो। कंचनपुरमा बोलाउँदा मलाई लाग्यो अब 'एक पन्थ दुई काज' हुन्छ, सरसँग भेटघाट पनि हुन्छ, वर्षौंदेखिको मेरो घुम्ने रहर पनि पूरा हुन्छ भन्ने मलाई लाग्यो।

अब म महेन्द्रनगर जाने लगभग पक्का पक्की भैसकेको थियो। जानको लागि सबै तयारी पूरा भैसकेपछि महेन्द्रनगर गएर बास बस्ने कता भन्ने एउटा प्रश्न मेरो मनमा उठ्यो। त्यतिखेर धेरै आफ्ना गाउँलेहरूको याद आयो तर आफ्ना गाउँलेहरूकोमा बस्न मैले उचित ठानिनँ। त्यतिखेर एउटा साथीको याद आयो, ऊ महेन्द्रनगरमा बस्छ भनेर। 

मैले त्यसपछि  धेरै सोचिनँ किनकि साथीले कोठा दिइहाल्छ दुई दिन सुत्नको लागि भन्ने लाग्यो। 

मैले त्यसपछि साथीलाई फोन गरें - म पनि महेन्द्रनगर आउँदैछु मलाई दुई दिनको लागि तपाईंसँगै बस्ने व्यवस्था गर्नु पर्यो भनेर भनें। उसले पनि 'हुन्छ आउनु होला ठाउँ छँदैछ' भनेर जवाफ दियो। 

त्यसपछि म धेरै खुसी भएँ र साथी बसेको सहरमा जाने निधो गरें। साथीले बास बस्न व्यवस्था गरिहाल्छ भनेर म तीन हजार रुपैयाँ मात्रै खल्तीमा बोकेर लगें। गाडी भाडा ११०० रुपैयाँ थियो महेन्द्रनगर पुगेको। घरमा आमा बाबा त नजानू भन्दै थिए, एक्लै नजाऊ छोरा, हाम्रो त कोही पनि छैन त्यो विरानो सहरमा भनेर तर म घरमा पनि मेरो साथी छँदैछ चिन्ता नलिनु पैसा नि धेरै खर्च हुँदैन खान बस्न दिइहाल्छ भनेर घरमा पनि खुसी पार्दै र आफू पनि खुसी हुँदै घरबाट निस्किएँ। 

बेलुकाको करिब ५ बजिसकेको थियो र म महेन्द्रनगर जानको लागि स्थानीय बजार खोचलेकमा गाडीलाई पर्खिरहेको थिएँ। एक घण्टा पर्खिएपछि  करिब ६ बजेतिर बस आइपुग्यो। रात्रिकालीन त्यो यात्रा धेरै रमाइलो भयो, धेरै खुसी थिएँ म त्यो राति बसमा। 

भोलिपल्ट बिहान करिब ९ बजेतिर महेन्द्रनगर बसपार्कमा उत्रिएँ र मैले सिधै मेरो साथीलाई म्यासेज गरें। 'हेलो सर' भनेर। उताबाट रिप्लाइ आयो - 'हजुर' भनेर। त्यसपछि मैले सिधै- म  यता बसपार्कमा छु अब २ दिनको लागि अलि बास बस्नको लागि व्यवस्था मिलाउनु पर्यो भनेर तर त्यो म्यासेज करिब १० मिनेटसम्म पनि हेरिएन। 

मैले प्रत्येक १०/१० मिनेटको अन्तरमा म्यासेज गरें। मलाई जसरी नि बस्ने व्यवस्था गर्नुपर्यो भनेर तर करिब ४० मिनेटसम्म म बसपार्कमा भौंतारिँदा समेत त्यो म्यासेज हेरिएन। त्यो तराईको प्रचण्ड गर्मीले बसपार्कमा म आकुलव्याकुल थिएँ।

पहिला 'हेलो सर' भन्ने बित्तिकै म्यासेजको रिप्लाई दिने र अहिले कोठाको व्यवस्था गरिदेऊ भन्दा म्यासेज नै नहेर्ने व्यवहार साथीको देख्दा आँखाबाट थोपा थोपा गरी आँसु झर्न लाग्यो। 

मलाई त्यसपछि त लागिसकेको थियो कि अब बस्नको लागि ठाउँ दिँदैन त्यही भएर हो म्यासेज नहेर्ने भनेर, तर पनि मैले साथीलाई अन्तिम म्यासेज गरें - तपाईंको कोठामा ठाउँ नहुने भएपछि हुँदैन भन्नुहोस् म अन्त कतै खोजी हाल्छु सर कोठा, तर रिप्लाइ दिनुहोस् भन्ने म्यासेज पठाउनेबित्तिकै रिप्लाइ आयो, 'अन्तै खोज्नू' भनेर। 

त्यो म्यासेज हेर्नेबित्तिकै मन अमिलो भयो। अनि थाम्न सकिनँ। धुरुधुरु रोएँ।

त्यतिखेर मेरो मनमा धेरै कुराहरू खेल्न थाले। मैले जसरी भए पनि त्यो अवस्थामा आफूलाई सम्हाल्न खोजें। म गरिब भएरै साथीले मलाई पहाडबाट यता आएर फसायो भन्ने लाग्यो। पहिला बस्नको लागि ठाउँ दिन्छु भनेर यता बसपार्कमा पुगेपछि कोठा अन्तै खोज्नु भन्नु साथीको पनि ठूलो गल्ती देखें ममाथी यत्रो अन्याय गरेको मैले सहन सकिनँ र म रुन पुगें। 

घरबाट त्यति खुसी भएर गएको मान्छे म त्यता पुग्दा रुनसम्म बाध्य भएँ। अब म त्यसैदिन घर फर्किने सोचें तर घरमा साथीले त्यसरी फसायो भनेर थाहा पायो भने  बढी दुखी हुन्छन् भनेर २ दिन होटलमै बसेर भए पनि बिताउने सोचें। दुई दिन मैले १५०० तिरेर होटलमा बसें र तेस्रो दिन घर फर्किएँ। घरमा पनि साथीसँगै बसेको हुँ भनेर झुटो बोलेर साथीलाई राम्रै बनाएँ।

आखिर आफ्नो आफन्त अथवा गाउँले नै रहेछन् काम लाग्ने तर साथीभाइहरू त स्वार्थी हुँदा रहेछन् भन्ने मैले प्रमाणित गरिसकें र त्यो दिन अझै पनि झलझली याद आइरहन्छ।

प्रतिक्रिया