२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

सिगासमा बुहारी नपाउने गाउँमा खानेपानी, १३७ घरमा खुसियाली बुहारी भित्र्याउन सहज

SansherOnline SansherOnline
शुक्रबार ०५, साउन २०८० ०९:३३
सिगासमा बुहारी नपाउने गाउँमा खानेपानी, १३७ घरमा खुसियाली बुहारी भित्र्याउन सहज

खानेपानी समस्याका कारण विगतका दिनहरूमा बुहारी नपाउने गाउँमा लिफ्टिङबाट खानेपानी योजना निर्माण गरी घर घरमा धारा पु-याइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आठ करोड रुपियाँ बजेटबाट घर घरमा धारा पु-याएपछि स्थानीयमा खुसियाली छाएको छ । 

बैतडी जिल्लाको सिगास गाउँपालिका–३ को लगन, ठुलीसैनी र हल्कासैनी गाउँमा पहिलो पटक लिफ्ट गरेर १३७ घरधुरीमा पानीको धारा पु-याइएको हो । लिफ्ट खानेपानी योजना आर्थिक वर्ष २०७७/७८ बाट सुरु भएर आर्थिक वर्ष २०७९/८० मा सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख कृष्णबहादुर बोगटीले बताउनुभयो ।

लगन–ठुलिनी लिफ्ट खानेपानी योजना बैतडीकै नमुना योजना भएको उहाँले बताउनुभयो ।   स्थानीय बासिन्दालाई खानेपानी लिन दुई घण्टा पैदल हिँडेर छिमेकी जिल्ला डडेलधुराको नवदुर्गा गाउँपालिका–५ मा पुग्नुपर्ने बाध्यता थियो । खानेपानीको समस्याका कारण यस गाउँमा बुहारी भित्र्याउँदासमेत समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । 

स्थानीयवासीको पहलमा प्रदेश सरकारले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै लिफ्टिङ गरेर भए पनि खानेपानी घर घरमा पु-याउन बजेट छुट्याइदिएको  खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुन्दरसिंह धामीले बताउनुभयो । 

“तीन किलोमिटर तल सिन्याखेत खोलाबाट लिफ्टिङ गरेर गाउँमा खानेपानी पु-याइएको छ ।  मुहानसहित बिच बाटोमा ४० घनमिटरका चार वटा ट्याङ्की निर्माण गरिएका छन् । वितरण हुने ठाउँमा ८० घनमिटरको ट्याङ्की बनेको छ र बस्तीमा १३७ धारा निर्माण भएका छन्,” उपभोक्ता समितिका अध्यक्ष धामीले भन्नुभयो ।  

धारा निर्माण भएपछि पुस्तौँदेखि खानेपानीको समस्या झेल्दै आइरहेका सिगास गाउँपालिका–३, मैनोला, लगन, हल्कासैनी, माझभ्वाँ, मैतोडा, ठुलीसैनी, परचाल र चमडेखर्क गाउँका स्थानीय लाभान्वित भएको उहाँले बताउनुभयो । “पानीका लागि दुई घण्टा हिँडेर छिमेकी जिल्ला डडेलधुराको नवदुर्गा गाउँपालिका पुग्नुपर्ने अवस्था थियो,” स्थानीय कलावती धामीले भन्नुभयो, “घर घरमै खानेपानी आएपछि अब त्यस्तो समस्या हटेको छ । घर घरमा पानीको धारा बनेपछि गाउँमा चाडपर्व आए जस्तो भएको छ ।” 

गाउँमा खानेपानीको धारा निर्माण भएपछि सबैभन्दा बढी महिला खुसी भएको स्थानीय बिर्मा  धामीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “प्रदेश सरकार ‘दाहिना’ भया । दुई घण्टा पैदल हिँडेर अर्को जिल्लाको वनबाट ४० लिटरको जर्किनमा पानी बोकेर खानुपर्ने बाध्यता थियो । गाउँमै खानेपानीको धारा आएपछि बहुतै निको भयो ।” स्थानीय युवा पठानसिंह बोहराले खानेपानी योजनाका लागि ठुलै सङ्घर्ष गर्नु परेको बताउनुभयो । खानेपानीको समस्याका बारेमा समाचार छापिएपछि प्रदेश सरकारले गाउँको समस्या बुझेर योजना दिएको दाबी उहाँको छ । 

खानेपानीको समस्या थाहा पाएकाले यो गाउँका युवालाई छोरीसमेत दिन मान्दैन थिए । गाउँमा पानीको निकै दुःख भएकाले प्रायः छिमेकी गाउँका इष्टमित्रले छोरीको विवाह गर्न नमान्ने गरेको बोहराले बताउनुभयो । अब बुहारी भित्र्याउन पनि सहज हुने भयो उहाँले भन्नुभयो ।   

पानीको सुविधासँगै शौचालयको प्रयोग 

बैतडी खुला दिसामुक्त जिल्ला भए पनि सिगास गाउँपालिका ३, मा पर्ने विभिन्न गाउँमा बन्द रहेका शौचालय पुनः प्रयोगमा आउन थालेका छन् । खानेपानी योजना केवल तिर्खा मेटाउने मात्र नभई अन्य कामका लागिसमेत प्रयोग हुन थालेको छ । खानेपानीले सिगास–३ का स्थानीयको जीवनमा निकै ठुलो परिवर्तन ल्याएको डिभिजन खानेपानी कार्यालयका प्रमुख बोगटीले बताउनुभयो । 

घर घरमा खानेपानीको धारा पुगेपछि शौचालयको नियमित प्रयोग र करेसाबारीमा तरकारी फलाउनेदेखि बुहारी भित्र्याउन सहज भएको स्थानीयले बताएका छन् । पानीको समस्या हुँदा गाउँमा बल्ल विकासको अनुभूति भएको उपभोक्ता सुन्दरसिंह धामीले बताउनुभयो । गोरखापत्र 

 

प्रतिक्रिया