२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

'ए प्लस' ल्याउने विद्यार्थी शून्य बैतडीमा , शिक्षालाई सुधार्ने हिम्मत र आँट कसले गर्ला ?

SansherOnline SansherOnline
शनिबार २३, असार २०८० ०६:१८
'ए प्लस' ल्याउने विद्यार्थी शून्य बैतडीमा , शिक्षालाई सुधार्ने हिम्मत र आँट कसले गर्ला ?

बैतडी : राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बैतडीबटा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य देखिएका छन् । अनिवार्य विषयमा विद्यार्थी निकै कमजोर रहेको सार्वजनिक नतिजाले पुष्टि गरेको छ । 

जिल्लामा कसैले पनि ए प्लस ग्रेड ल्याउन नसकेको शिक्षा विकास तथा समन्वय इकाइका  शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । 

सुदूरपश्चिमका ९ ओटा जिल्लामा मध्ये ए प्लस ग्रेड ल्याउन नसक्ने जिल्ला बैतडी मात्रै रहेको शिक्षा विकास निर्देशनालय दिपायलले जनाएको छ । जिल्लाबाट ५ हजार ३३८ जना परीक्षामा सहभागि भएका थिए । 

कुनै बेला शिक्षा क्षेत्रमा अब्बल मानिएको बैतडीमा पछिल्लो समयमा लगातार शैक्षिक गुणस्तर खस्कदै गएको छ । गत बर्ष पनि जिल्लामा एसईई परीक्षामा कसैले पनि ए प्लस ग्रेड ल्याउन सकेका थिएनन् । 

माध्यमिक तह सम्मको शिक्षा हेर्ने अधिकार अहिले स्थानीय तहलाई छ । निरन्तर रुपमा शैक्षिक गुणस्तर ओरोलो लाग्दै गएको भएपनि स्थानीय तहहरुले शैक्षिक गुणस्तर सुधारका लागि कुनै पहल गर्न सकेका छैनन् । 

सामान्य अर्थमा शिक्षा भनेको जन्मदेखि मृत्युसम्म निरन्तर चलिरहने सिकाइ प्रक्रिया हो, जुन औपचारिक तथा अनौपचारिक रूपमा ग्रहण गर्न सकिन्छ । शिक्षाले मानवीय अज्ञानता तथा अन्धकार हटाई सुनौलो बिहानीको कल्पनाका साथै मार्गनिर्देशन पनि गर्छ ।

अधिकांश सामुदायिक विद्यालयहरू शैक्षिक गुणस्तरका सवालमा निजी विद्यालयको तुलनामा कमजोर देखिन्छ । विभिन्न प्रकारका तालिम, सभा,  सम्मेलन, अन्तर्क्रिया, एवम् योजना निर्माण आदि  गरी सामुदायिक शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै आए पनि व्यवहारमा सार्थकता पाउन सकिरहेको छैन ।

शिक्षालाई सुधार्ने हिम्मत र आँट कसले गर्ला ? यो प्रश्न निरुत्तरित छ । सामुदायिक विद्यालय किन र कसरी धारासायी बन्दै गए भन्ने विषय सरोकारवाला पक्ष, राजनीतिक दलका नेता, सरकारी अधिकारी सबैलाई ऐना जस्तै छर्लङ्ग छ । तर सम्बन्धित सरोकारवाला पक्ष आ–आफ्नो स्वार्थको कारण कानमा तेल हालेर बसेको छ । अहिले यो विषय “बिरालोको घाँटीमा कसले घण्टी बाध्ने ?” भन्ने मुसाको कथा जस्तै भएको छ ।

सामुदायिक विद्यालयका शिक्षकले वर्तमान समयमा आफ्नो पेसाप्रति उत्तरदायी बन्नुका साथै  जवाफदेही पनि हुनुपर्छ । शिक्षकले सामुदायिक विद्यालयमा बढ्दै गइरहेको राजनीतिक क्रियाकलापलाई निस्तेज पारेर ऊ आफू स्वयम् समाजको उदाहरणीय पात्र बन्न सक्नुपर्छ । प्रविधिलाई पछ्याउन सक्नुपर्छ ।

सामाजिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको अर्को महत्त्वपूर्ण पक्ष अभिभावक हुन् । विद्यालयमा आफ्ना बालबालिकाका पठाइँदिँदा मात्र आफ्नो दायित्व पूरा हुन्छ भन्ने महसुस गर्ने गर्नु हुँदैन ।

प्रतिक्रिया