२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

सहिद दशरथचन्दको १२१ औँ जन्मजयन्ती मनाइयो

SansherOnline SansherOnline
आइतबार १७, असार २०८० ०९:४६
सहिद दशरथचन्दको १२१ औँ जन्मजयन्ती मनाइयो

बैतडी : आज सहिद दशरथ चन्दको १२१ औँ जन्मजयन्ती बैतडी लगायत देशका विभिन्न ठाउँमा सहिद दशरथचन्दको सालिकमा माल्यार्पण गरि मनाइदै छ । आज बैतडीको सदरमुकाम गढी खलंगास्थित उहाँको सालिकमा माल्यार्पण गरिएको छ । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका जिल्लास्थित प्रमुख, दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतल व्यक्तिहरुले उहाँको सालिकमा माल्यार्पण गरि जन्मजयन्ती मनाएको सहिद दशरथचन्द प्रतिष्ठानका अध्यक्ष विनोद बहादुर चन्दले बताउनुभयो ।




तत्कालिन जहानीया राणा शासनको अन्त्यका लागि आफ्नो जीवन बलिदान गर्ने चार सहिद मध्ये दशरथचन्द पनि एक हुन् । शहीद दशरथ चन्दको जन्म विसं १९६० असार १७ गते बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखबाट माइला छोराका रूपमा भएको थियो ।

 

उनका पिता सुर्खेतमा टुँडिखेल बनाउने लेफ्टिनेन्ट शेरबहादुर चन्दका नामले चिनिन्छन् । राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व शहीद चन्दले मानविकी तथा समाजशास्त्र विषयमा वनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए। त्यसअघि उनले नेपालगञ्ज, भारतको अल्मोडा, कुमाउँ, नैनीतालजस्ता ठाउँमा पढेका थिए । त्यही बेला उनले काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थालेका हुन् । महात्मा गान्धीले भारतमा प्रारम्भ गरेको सत्याग्रहमा उनी सक्रिय रूपमा सहभागी थिए ।

विसं १९९० मा बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथ चन्दको पहिलो पटक भेट भएको थियो । विसं १९९१ मा उनी सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुगेका थिए । त्यसपछि थाइल्याण्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाएका थिए । उनी त्यही बेला नेपाल प्रजा परिषद्को कार्यकर्ता समेत रहेका थिए ।


दशरथ चन्द र गंगालाल श्रेष्ठ एउटै जेलमा परेका थिए । तत्कालीन राणा सरकारले विसं १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो । जिल्लामा हरेक वर्ष शहीद चन्दको सम्झनामा बैतडीमा विभिन्न कार्यक्रम गरि मनाउने गरिएको छ । सहिद दशरथचन्दकै नामले यहाँको सदरमुकास्थित नगरपालिकाको नाम समेत दशरथचन्द रहनगएको हो । 

प्रतिक्रिया