२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

खप्तडको विकासमा चुकेको सुदूरपश्चिम

SansherOnline SansherOnline
मङ्गलबार ०५, असार २०८० ०५:०९
खप्तडको विकासमा चुकेको सुदूरपश्चिम

खप्तड-अर्जुन शाह : ‘प्रकृतिको दुर्लभ उपहार हो खप्तड,’ गत साता पहिलो पटक खप्तड पुगेका भारतस्थित पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्णले भने, ‘म स्विट्जरल्यान्ड पनि घुमेको छु तर खप्तडजस्तो सुन्दर र विविधतायुक्त अरू ठाउँ छैन ।’

आयुर्वेदका ज्ञातासमेत मानिएका बालकृष्णलाई खप्तडको प्राकृतिक सुन्दरता र खप्तड बाबाले ५० वर्ष कठोर साधना गरी ख्याति कमाएको आध्यात्मिक भूमिको महत्त्वले मात्रै मोहित गरेन, दुर्लभ जडीबुटीको भण्डारले पनि आकर्षण गर्‍यो । यहाँ ढपक्क फुलेका सेता गुराँसमा पनि बहुमूल्य औषधीय गुण रहेको बारे उनी आफ्ना साथीहरूलाई बुझाउँदै थिए ।

बालकृष्ण पुगेको दोस्रो दिन आफ्ना वृद्ध आमाबुबासहित प्रसिद्ध भारतीय योगगुरु रामदेव पनि खप्तड पुगे । दृश्यावलोकन गरेपछि त्यहाँको महिमा सुनाउँदै आफ्नै भाषामा उनले भने, ‘मैले पूरा युरोप देखेको छु, स्विट्जरल्यान्ड पनि घुमेको छु, तर यति सुन्दर दृश्य कमै ठाउँमा छ । यो ठाउँ त ईश्वरीय वरदान हो ।’ खप्तडको आध्यात्मिक महत्त्व बुझेका जगत्गुरु बालसन्त मोहनशरण पनि यही बेला खप्तड पुगे । खप्तड क्षेत्रको महत्त्वका बारेमा धार्मिक प्रवचनसहित उनले प्रशंसा गरे । जगत्गुरु, रामदेव, बालकृष्ण मात्रै नभई खप्तड पुग्ने जोसुकैको मुखमा झुन्डिएको साझा शब्द थियो, ‘खप्तड त भू–स्वर्ग हो ।’

गत जेठ २३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित खप्तडकै थलीमा आयोजित अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको मञ्चमा रामदेवले खप्तड विश्वकै उत्कृष्ट आध्यात्मिक पर्यटनको केन्द्र बन्न सक्ने बताएका थिए । ‘प्रधानमन्त्रीजी, खप्तडको विकासका लागि एउटा नीति र योजना बनाउनुस्, मैले के गर्नुपर्छ म सहयोग गर्न तयार छु,’ रामदेवले भने, ‘खप्तडको प्रचारप्रसारका लागि निःशुल्क रूपमा ‘ब्रान्ड अम्ब्यास्डर’ बन्न पनि तयार छु । खप्तडको प्रचारप्रसार अब मेरो जिम्मा भयो ।’ रामदेवले यति भनेपछि प्रधानमन्त्री दाहालले पनि ‘खप्तडको विकासका लागि ठूलो परियोजना बनाउँछौं’ भने । कार्यक्रममा भारत, अमेरिका, इजरायलका राजदूतहरू, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री गणलगायत विभिन्न निकायका प्रतिनिधि उपस्थित थिए । ‘लुम्बिनी विकास कोषको संरचनाजस्तै कोष वा प्रतिष्ठानको अवधारणा अघि बढाउन विमर्श सुरु गर्छु,’ प्रधानमन्त्री दाहालले भने, ‘लगानी बोर्डले डीपीआर तयार गरिसकेको छ । सहयोगका लागि अपिल गर्दछु ।’

पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरुडपुराणमा वर्णन भएको स्वर्गभन्दा पनि खप्तडको सुन्दरता धेरै रहेको बताए । पूर्वउपप्रधानमन्त्री भीम रावलले खप्तडको विकास पछाडि परेको सुदूरपश्चिमलाई उठाउने आधार भएको जनाए । ‘सुदूरपश्चिम समस्या र गरिबी मात्र हैन, संसारकै वैभवता भएको ठाउँ हो । जोसँग खप्तड छ, त्यो गरिब हुनै सक्दैन,’ सांसद रमेश लेखकले भने, ‘हामीले मृत्युपछिको स्वर्ग देखेका छैनौं, जीवनको स्वर्ग चैं खप्तड हो ।’ सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पनि खप्तडको विकास सुदूरपश्चिमको आधार भएको सुनाए ।

दलका नेताहरूले जति आश्वासन दिए पनि अहिलेसम्म यस क्षेत्रको विकासका लागि विस्तृत तथा दीर्घकालीन योजना बनेको छैन । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अनुसार आर्थिक वर्ष ०७४/७५ देखि ०७९/८० वैशाखसम्म १७ हजार जना बढीले खप्तडको भ्रमण गरे । तर विदेशी पर्यटकको संख्या भने अत्यन्तै न्यून छ । आर्थिक वर्ष ०७९/८० को १० महिनामा सार्क मुलुकका विदेशी पर्यटकको संख्या ६ जनामात्रै रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले बताए ।

खप्तडको चर्चा २०२२ सालमा तत्कालीन राजा महेन्द्रले त्यहाँ साधनारत खप्तड बाबासँग भेट गरेपछि चुलिएको हो । ०४० सालमा राष्ट्रिय निकुञ्ज स्थापना गरिएको खप्तडले २२५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । समुद्री सतहबाट एक हजार ४ सय २० मिटरको चौकी भन्ज्याङदेखि तीन हजार ३ मिटर उचाइको सहस्रलिंगसम्म फैलिएको छ । खप्तड क्षेत्र र यहाँका पाटन (फाँट), ताल, गुफा आदि विभिन्न पौराणिक तथा धार्मिक कथा प्रसंगहरूसँग जोडिएको पाइन्छ । खप्तडले मानव संस्कृतिको आरम्भदेखि तपस्वीहरूको साधना केन्द्र, ईश्वरको क्रिडा क्षेत्र एवं धार्मिक व्यक्तिको तीर्थधामका रूपमा अग्रस्थान ग्रहण गरेको मानिन्छ ।

खप्तड क्षेत्र जैविक विविधताका दृष्टिले पनि अमूल्य छ । कैलाश हिमशृंखला पर्ने खप्तड क्षेत्रमा २२ वटा घाँसे मैदानका फाँट, ९ वटा दह र ५२ थुम्काहरू रहेकाको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक खड्का बताउँछन् । उनका अनुसार खप्तडमा २५० भन्दा बढी प्रकारका जडीबुटी, ५६७ प्रजातिका फूल फुल्ने प्रजातिका वनस्पति, २३ प्रजातिका वन्यजन्तु पाइन्छन् ।

बहुरंगी लालीगुराँस र फूलले खप्तडको दृश्यावलोकनलाई रोमाञ्चित बनाउँछन् । फराकिला पाटन, दह, जीवजन्तु र हिमालयको दृश्यावलोकन खप्तडका आकर्षण हुन् । पाटन र थुम्काहरू रहेको खप्तडको मध्यभागमा शिवलिंग स्वरूपको सहस्रलिंग छ । यहाँ नौरंगी फूलले सुसज्जित पिरामिड शैलीका दर्जनौं पर्वत शृंखला छन् । खप्तड राष्ट्रिय निकुञ्जका अनुसार यहाँ चिराइतो, चुत्रो, झ्याउ, पदमचाल, टिमुर, सालम, पन्जाजडी, सालम्मी, भोजपत्र, श्री काकोली, डोलु, पाँचऔंले र कालकुट विषलगायत २ सय ३ थरीका जडीबुटी पाइन्छन् । पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्णले एक हजार बढी बहुमूल्य प्रजातिका जडीबुटी रहेको अनुमान गरे । यहाँ पाइने जडीबुटीबाट बनेको ओखतीमूलो वितरण गरेर पनि खप्तड बाबाले प्रसिद्धि कमाएका थिए ।

जेठ–असारमा जंगली फूलले ढपक्क हुने खप्तडमा असोज–कात्तिकमा हिमालयको दृश्यावलोकन मनमोहक लाग्छ । खप्तड क्षेत्रबाट अपी, सैपाल मात्रै होइन, कतिपय भारतीय हिमालको रमणीय दृश्य पनि अवलोकन गर्न सकिन्छ । पुस–माघमा हिउँले सेताम्मे हुने खप्तड चैत–वैशाखमा गुराँस रंगीचंगी हुन्छ । खप्तड बाबा आश्रम, त्रिवेणी धाम, सहस्रलिंग, खापर दह, डाँफेकोट, नागढुंगा, केदार ढुंगा, सीता पाइलालगायत खप्तडका धार्मिक तथा आकर्षक स्थलहरू हुन् । खप्तडमा लाग्ने मेलामा सुदूरपश्चिम पहाडको कला, संस्कृति, भाषा, भेषभूषा देख्न पाइन्छ ।

खप्तड बाबा

भारतको कश्मीरमा नेहरू परिवारमा सन् १८८० मा जन्मिएका सच्चितानन्द सरस्वती चिकित्सक थिए । चिकित्सा पेसामा रहेकै बेला अन्तरप्रेरणाले काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन गरेपछि उनले संन्यास ग्रहण गरे । सन् १९२९ मा तत्कालीन बझांगी राजा रामजंगबहादुर सिंहको सहयोगमा उनी खप्तड पुगे । उनले त्यहीं तपोकुटी (बाबा कुटी) निर्माण गरी कठोर साधना सुरु गरेका थिए । उनै सच्चितानन्द सरस्वतीले खप्तडलाई साधनाभूमिका रूपमा रोजेपछि खप्तड बाबाका नामले परिचित हुन पुगे ।

उनले खप्तडमा ५० वर्ष कठोर साधना गरे । ११७ वर्ष बाँचेका उनीलाई खप्तडको पौराणिक, सांस्कृतिक र प्राकृतिक महत्त्वलाई लोकप्रियताको शिखरमा पुर्‍याउने श्रेय जान्छ । उनले विचार विज्ञान, धर्म विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म र पुरुषधर्म, योगविज्ञान, आत्मज्ञान, आरोग्य विज्ञान, वेदान्त विज्ञानलगायतका डेढ दर्जनभन्दा बढी पुस्तक रचना गरेका थिए ।

खप्तडमा विकास बहस

०२२ सालमा तत्कालीन राजा महेन्द्रले खप्तड बाबालाई भेटेका थिए । राजपरिवारका सदस्यले हरेक वर्ष गंगादशहरा मेलामा खप्तडको भ्रमण गर्थे । खप्तड बाबाकै अनुरोधमा खप्तडलाई ०४२ सालमा राष्ट्रिय निकुञ्ज बनाउने निर्णय भएको थियो । यद्यपि विकासको ठोस पहल हुन सकेन । सरकारले ०६३/६४ मा खप्तड क्षेत्र पर्यटन विकास समिति गठन गरेको थियो । समितिको नेतृत्वमा भानुभक्त जोशी (हाल सांसद), त्रिलोचन भट्ट (पूर्वमुख्यमन्त्री), कर्णबहादुर केसी, सहदेव बोगटी र पूर्णराज जोशी क्रमशः अध्यक्ष नियुक्त भए । तर उनीहरूको कार्यकालमा खप्तडको विकासभन्दा आर्थिक अनियमितताका आरोप लागेर विवादित हुन पुग्यो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ०६३/६४ देखि ०७४/७५ सम्म खप्तड पर्यटन विकास समितिका लागि २६ करोड ४ लाख २२ हजार खर्चिएको अभिलेख छ । त्यसबाहेक ०६५/६६ देखि ०७५/७६ सम्म नेपाल पर्यटन बोर्डले समेत ३ करोड ५२ लाख ५७ हजार खर्चिएको थियो । त्यो खर्चबाट उपलब्धि भयो ? जवाफ दिनेहरू भेटिँदैनन् ।

०७५ मा खप्तड क्षेत्रको विकास समिति प्रदेशअन्तर्गत हस्तान्तरण भयो । सुदूरपश्चिम प्रदेश सरकारले गठनादेशअनुसार ०७७ पुसमा डोटीका हर्कबहादुर सिंहलाई अध्यक्ष र कार्यकारी निर्देशकमा भीमबहादुर खड्कालाई नियुक्त गर्‍यो । ‘विगतकै कुराहरूमा अल्झेर बस्यो भने खप्तड कसरी बन्छ र कसले बनाउँछ ?,’ कार्यकारी अधिकृत खड्का भन्छन्, ‘यसैले हामीले खप्तडको न्यारेसन चेन्ज गर्न खप्तडमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाको जमर्को गरेका हौं ।’ उनले देश विदेशका कार्यकारी तथा प्रबुद्ध व्यक्तिलाई खप्तडको आँगनमा पुर्‍याएर विकास प्रयासमा प्रतिबद्धता जुटाएको बताए ।

खप्तडको बहुआयामिक सम्भावना अवलोकन गरेका गोरखाका ज्ञानेन्द्र दवाडी ‘सुनको कचौरामा भिख मागिरहेको’ जस्तो अवस्था रहेको टिप्पणी गर्छन् । प्राकृतिक, आध्यात्मिक, योग, साहसिक खेल र सांस्कृतिक पर्यटनका लागि खप्तड विशेष केन्द्र बन्न सक्ने प्रचुर आधार हुँदाहुँदै पनि हालसम्म योजनाबद्ध विकासका प्रयास नभएको खप्तडको अध्ययन गरेका पर्यटनविद् आलोक प्रसाईंको बुझाइ छ ।

संघीय सरकारले ०७५ मा खप्तड क्षेत्रको विकासको जिम्मेवारी प्रदेश सरकार मातहत हस्तान्तरण गर्‍यो । प्रदेश सरकारले पर्यटन मन्त्रालय मातहत रहने गरी ०७७ पुसमा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन गर्‍यो । सोही समितिको व्यवस्थापन तथा मुख्यमन्त्रीको संयोजनमा पहिलो पटक खप्तड क्षेत्रको प्रचारप्रसार तथा विकास बहस तथा प्रतिबद्धता जुटाउने उद्देश्यले खप्तडको थलीमा ‘प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन’ को आयोजना गर्‍यो । सम्मेलनमा विभिन्न विधाका विज्ञहरू जमघट भएर यस क्षेत्रको विकास र सम्भावनाको बहस गरे ।

इतिहासविद् राजाराम सुवेदीले खसआर्य तथा प्राचीन सभ्यताको विकास खप्तडमा भएको जानकारी गराए । ‘खप्तड सबैको मियो हो । खप्तड केन्द्रस्थल हो । अहिलेका विभिन्न जातजाति जहाँ बसेका छौं, त्यो खप्तड सभ्यताकै स्थानान्तरण भएका हुन्,’ उनले भने, ‘प्राचीनकालमा दक्षिण एसियाको सारा व्यापार खप्तड केन्द्रबाट हुन्थ्यो । भग्नावशेष त कति छन् कति ।’

लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले खप्तड क्षेत्रको एकीकृत विकास योजना र बहुआयामिक अध्ययन आवश्यक रहेको औंल्याए । नेपाल पर्यटन बोर्डका प्रबन्धक केवी शाहले खप्तडलाई आध्यात्मिक पर्यटनको केन्द्र कसरी बनाउन सकिन्छ भन्ने भन्नेमा सोचिरहेको बताए । काठमाडौं विश्वविद्यालय योग विभागका प्रमुख अनन्त रिसालले खप्तड क्षेत्र योग साधनाका लागि सर्वोत्कृष्ट स्थान भएको सुनाए । ‘ध्यान गर्नै नपर्ने स्वतः ध्यान लाग्ने सर्वश्रेष्ठ ठाउँ हो खप्तड,’ उनले भने, ‘विश्वप्रसिद्ध गराउन सकिने यस ठाउँमा योगका विद्यार्थीहरू भ्रमण गराउने योजना छ ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले खप्तडको सम्भावना प्रमुख क्षेत्रका रूपमा पहिचान गरिएको बताए । ‘यहाँ आध्यात्मिक पर्यटनको विकास, जडीबुटीको संरक्षण र व्यावसायिक खेती गर्नुपर्छ भन्ने कार्यक्रमहरू सोचिरहेका छौं,’ उनले भने, ‘यहाँको प्राकृति छटा र मूल्यमान्यताको उपयोग गरेर लाभ लिन सक्ने योजना अघि बढाउँछौं ।’

प्रधानमन्त्री दाहाल खप्तडबाट फर्केर सोही दिन पोखरामा आयोजित हिमालयन ट्राभल मार्टमा २५ देशका पर्यटन व्यवसायीलाई सम्बोधन गर्दै खप्तडको आध्यात्मिक पर्यटनको महत्त्वको वर्णन गरेको बताए । ‘प्रधानमन्त्रीले खप्तडको आध्यात्मिकताको चर्चा गर्दै विदेशीलाई खप्तड घुम्न आग्रह गर्नुभयो,’ पर्यटन व्यवसायी सुनिल शाक्यले भने, ‘खप्तडको प्रचारप्रसारका अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन कोसेढुंगा भयो । अब पूर्वाधार विकासमा पाइला बढ्नुपर्‍यो ।’-कान्तिपुर

प्रतिक्रिया