२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
सोमबार २१, फागुन २०८० ०४:३८
बैतडीको मेलौली सबडिभिजन वन कार्यालयमा भुत, भाडाको घरमा कार्यालय

बैतडी : बैतडीको एक सबडिभिजन वन कार्यालयको भवनमा भूतले तर्साउने गरेको भन्दै कर्मचारी घरभाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका छन्।

जिल्लाको मेलौली नगरपालिका–६ को जेवलासैनीस्थित सबडिभिजन वन कार्यालयको भवनमा भूतले तर्साउने गरेको भन्दै यहाँका कर्मचारी मेलौली नगरपालिका–१, हरिपुर बजारमा घरभाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका छन् । निजी घरको मासिक आठ हजार रुपियाँ भाडा तिर्ने गरिएको छ ।   

यहाँको सबडिभिजन वन कार्यालयले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका हेर्ने भनिए पनि यहाँ वन अधिकृत नै बस्दैनन् । भाडाको घरबाट सञ्चालित सबडिभिजन वन कार्यालय तीन जना वन रक्षकको भरमा चलेको छ । आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्दा कहिलेकाहीँ एक्लै बस्नु पर्ने भएकाले भूतको डरले बस्न नसकिएको कर्मचारीले बताएका छन् ।  

भूतले तर्साउँछ भन्ने सुनेका कारण भाडाको घरमा बस्दै आएको सबडिभिजन वन कार्यालय मेलौलीका वन रक्षक प्रशान्त ओझाले बताउनुभयो । दरबन्दी अनुसार कर्मचारी भइदिए आफ्नै भवनमा राति आगो बालेर भए पनि बस्न सकिने वन रक्षक ओझाले बताउनुभयो । 

भाडाको घरबाट कार्यालय सञ्चालन गर्नुपर्दा नर्सरी कार्यक्रम सञ्चालन गर्न नसकिएको बताइएको छ । तीन वटा स्थानीय तहमा बाँडिने वन पैदावरमा आधारित नर्सरी जिल्ला सदरमुकामको डिभिजन वन कार्यालयमा राख्ने गरिएको छ । तेजपत्ता, टिमुर, ओखर, अमलालगायतका बिरुवा सदरमुकामबाट ल्याउने गरिएको छ । आफ्नै भवन भएको स्थानमा पर्याप्त जग्गा भए पनि भूतको डरले कर्मचारी बस्ने वातावरण बन्न नसकेको बताइन्छ ।  

आफ्नै भवनमा वनका कर्मचारी नबस्नुको कारण सोधपुछ गर्दा भूतकै कुरा आउने गरेको मेलौलीका स्थानीय चिन्तामणि भट्टले बताउनुभयो । मेलौली नगरपालिका–६, लामालेक बजारबाट १५ मिनेटको दुरीमा रहेको जेवलासैनीको जङ्गल रहेको सबडिभिजन वन कार्यालय वर्षौंदेखि कर्मचारीविहीन हुँदा वन फँडानी बडेको उहाँले गुनासो गर्नुभयो । 

डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलीपकुमार यादवले आफूलाईसमेत भूतले तर्साएको भन्दै सरकारी भवन छाडेर भाडामा कार्यालय सञ्चालन भएको बताउनुभयो । 

उहाँले मेलौलीमा मात्रै होइन, बैतडीमा रहेको डिभिजन वनमै राति भूतले तर्साउने गरेको राति १२ देखि १ बजेको समयमा मानिस हिँडेको जस्तो आवाज आएपछि ढोका बज्ने र उठेर बाहिर हेर्दा केही नदेखिने बताउनुभयो ।

प्रतिक्रिया