२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
बुधबार २५, पुष २०८० ०७:२६
बैतडीका हजारौँ  खेलाडीलाई खेल्ने सिक्ने ठाउँ बारीको कुना र सडक

गौरव चन्द-बैतडी : बैतडीका १० वटै पालिकामा यति बेला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कुनै पालिकाले पाँचौँ पटक गर्दै छन्, त कुनैले छैठौँ पटक प्रतियोगिता संचालन गरि रहेका छन् । स्थानीय तह आउनु पूर्व पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुन्थे । खास गरि माध्यमिक तहमा पढ्ने बालबालिकाहरु प्रतियोगितामा सहभागी हुन्छन् र आफ्नो प्रतिभा प्रस्फुटन गर्छन् । जिल्लाका धेरै विद्यालयमा खेल मैदानको अभाव छ । तर पनि विद्यार्थी बारीको कुना, सडक र साँघुरा ठाउँमा खेल खेल्दै आएका छन् । 

जिल्लाको सिगास गाउँपालिकामा अहिलेसम्म पनि व्यवस्थित खेल मैदान नहुँदा यहाँका हजारौँ बालबालिका र खेलाडीलाई खेल्ने र सिक्ने वातावरण राम्रो छैन । अर्जुन माविको खेल मैदान बाहेक अन्य ठाउँमा पर्याप्त खेल्ने सिगासमा ठाउँ छैन । जिल्लाका सबै पालिकामा व्यवस्थित खेल मैदान हुनु पर्ने हो तर सरोकारवाला निकायले खेल क्षेत्रलाई उपेक्षामा पारेको खेलाडीहरुको गुनासो छ । हरेक वर्ष पालिकाले संचालन गर्ने राष्ट्रपति रनिङ शिल्ड लगायतका प्रतियोगितात्मक कार्यक्रम कि सडकमा कि विद्यालयको प्राङ्गणमा गर्दै आएका छन् । जसले गर्दा सडकमा दुर्घटना हुने जोखिम बढेको छ भने विद्यालयमा पढाई रोकेर कार्यक्रम गर्नु पर्ने अवस्था छ ।

हरेक वर्ष पालिकाहरुले संचालन गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियो गर्दा खेल मैदानको अभाव भोग्दै आए पनि व्यवस्थापन गर्न तर्फ चासो दिएका छैनन् । विद्यालय र गाउँपालिकामा व्यवस्थित खेल मैदान नहुँदा वर्षौँदेखि आफूहरु सडकमै खेल खेल्ने र अभ्यास गर्ने गरेको  सिगास गाउँपालिकाका एक खेलाडिले बताउनुभयो । उहाँले विद्यालयले दौड लगायतका खेल सडकमा खेलाउने गरेको भन्दै समय समयमा विद्यार्थीहरु लडेर चोटपटक लाग्ने गरेको सुनाउनुभयो । 

स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथमिकता तथा खेल पूर्वाधार निर्माण ध्यान नदिँदा यस्तो समस्या आएको हो। खेलकुदका गतिविधि सञ्चालनका लागि उपयुक्त खेल मैदान आवश्यक पर्ने भए पनि खेल मैदानबिना प्रतियोगिता सञ्चालन भइरहेका हुन्। उपयुक्त खेल मैदानबिना सञ्चालनमा रहेको प्रतियोगितामा खेलाडीले आफूले चाहेको प्रदर्शन गर्न नसक्ने र चोटपटकको सम्भावना पनि उच्च हुन्छ।​

जिल्लाको दशरथचन्द नगरपालिका ,पुर्चौडी नगरपालिका,दोगडाकेदार गाउँपालिका,सिगास र सुर्नया गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भइसकेका छन्। अब पाटन नगरपालिका,मेलौली नगरपालिका,डिलाशैनी र पञ्चेश्वर गाउँपालिकामा रनिङ शिल्ड सञ्चालन हुँदै छ । 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकिए लगत्तै त्यसपछि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ‌। जिल्ला खेलकुद समितिले मंसिरमा एक सूचना जारी गर्दै माघ ७ गतेभित्र पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न हुने जनाएको थियो । 

प्रतिक्रिया