२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
सोमबार २५, मङि्सर २०८० ०९:००
बैतडीका स्थानीय तहमा भ्रष्टाचार बढेको गुनासो, बाख्रासमेत हिँड्न नसक्ने सडक निर्माण

बैतडी : भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाले बैतडीका स्थानीय तहमा भ्रष्टाचार बढेको गुनासो गरेका छन् । 

नागरिक समाज बैतडी र जिल्ला प्रशासन कार्यालयले आइतबार बैतडी सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय बासिन्दा र नागरिक समाजका प्रतिनिधिले अहिले सबैभन्दा बढी स्थानीय तहमा भ्रष्टाचार बढेको गुनासो गरेका हुन् ।  

कार्यक्रममा गुनासो राख्न दुई घण्टा हिँडेर सुर्नया गाउँपालिकाबाट बैतडी सदरमुकाम पुग्नुभएका स्थानीय देवबहादुर चन्दले जनप्रतिनिधिले कर्मचारी भर्ना, घर भाडा र इन्धनमा भ्रष्टाचार गर्नेगरेको गुनासो गर्नुभयो । सदरमुकाममा एक कोठाको भाडा दुई हजार भएका बेला स्थानीय सरकारले गाउँमा एक कोठा पाँच हजार भाडा तिर्नेगरी लिएको उहाँले आरोप लगाउनुभयो ।   

चन्दले गुनासो राख्दै भन्नुभयो, “सुर्नया गाउँपालिकाले बाख्रासमेत हिँड्न नसक्ने सडक निर्माण गरेर बजेट दुरुपयोग गरेको छ । गाउँबाट म पैदल हिँडेर सतबाँझ पुगेको हुँ । डिलासैनी गाउँपालिकामा घुम्नजाँदा गाउँपालिकाले बिनाकाम १७ जना कर्मचारी भर्ना गरेर तलब खुवाएको पाएँ । स्थानीय तह नातागोता र दलका मान्छे भर्ना गर्ने थलो बनेका छन् ।” 

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले कार्यपत्र प्रस्तुत गर्नुहुँदै सुशासन कायम गर्न स्थानीय सरकार उत्तरदायी बन्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पन्थीले भ्रष्टाचारले देश र लोकतन्त्र कमजोर हुने भएकाले यो विषयमा सबै चनाखो बनेर भ्रष्टाचारविरुद्ध जुट्नु पर्ने बताउनुभयो । 

कार्यक्रममा भ्रष्टाचारविरुद्धका राष्ट्रिय अभियन्ता भरत जङ्गमले नागरिक समाज टेलिफोनमार्फत शुभकामना व्यक्त गर्दै नागरिक समाज बैतडीले भ्रष्टाचारविरुद्ध अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो । 

अन्तरक्रिया कार्यक्रमका अध्यक्ष एवं नागरिक समाज बैतडीका संयोजक गणेश ठकुराठीले भ्रष्टाचारका कारण देशमा बेरोजगारी बढेको, गरिबले छाक टार्न विदेश जानु परेको धारणा राख्नुभयो । ठकुराठीले बैतडी जिल्ला धेरै भ्रष्टाचार हुने जिल्लाको सूचीमा रहेको बताउनुहुँदै उजुरीमाथि अख्तियारले छानबिन गर्नुपर्ने माग गर्नुभयो ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम हेर्दै आइरहेको कञ्चनपुरस्थित कार्यालयको तथ्याङ्कअनुसार आ.ब. २०८०–८१ को साउनदेखि मङ्सिरसम्म ४३४ वटा उजुरी परेका छन् । 

प्रतिक्रिया