२०८१ बैशाख २३ गते आइतबार
ट्रेन्डिङ

गर्मीमा घरेलु फेसप्याक

SansherOnline SansherOnline
बुधबार १२, बैशाख २०८१ ०९:४०
गर्मीमा घरेलु फेसप्याक

गर्मी याममा ब्युटिपार्लर जाडो यामको तुलनामा बढी धाउनुपर्छ। गर्मीमा चर्को घामका कारण छाला डढ्छ। जसले गर्दा छालाका थुप्रै समस्या महिलाले भोग्नुपर्छ। डढेको छाला थकित र कान्तिहीन देखिन्छ। त्यसैले पार्लर जानैपर्ने बाध्यता आइलाग्छ। पार्लरमा फेसियल, स्क्रब र क्रिममा जति खर्च गरे पनि चाहेजस्तो परिणाम पाउन सकिँदैन। तर, घामले छालामा ल्याउने कालोपनालाई हटाउने तरिका हाम्रो भान्सामै लुकेका छन्। स्वास्थ्यखबरले केही तरिकालाई यहाँ प्रस्तुत गरेको छ।

कागतीको रस, काँक्रो र गुलाबजल
यी तीन चिजलाई एउटा कचौरामा समान मात्रामा लिई मिसाउने। दुई मिनेटसम्म यत्तिकै राख्ने। एउटा कपासको टुक्राको मद्दतले अनुहार, हातखुट्टा र कालोपना भएको ठाउँमा दल्ने। काँक्रोको रस र गुलाबजलले डढेको छालालाई शीतलता प्रदान गर्छन्। कागतीको रसले ब्लिचिङ एजेन्टको काम गरी छालाको कालोपनालाई हटाउँछ। त्यस्तै, मह र कागतीको रसको प्रयोग पनि गर्न सकिन्छ। आधा कागतीको रसमा एक चम्चा मह मिसाउने र छालामा लगाएर २० मिनेटसम्म राख्ने। दिनहुँ यसो गर्दा छिटै राम्रो परिणाम पाउन सकिन्छ।

गोलभेँडा, दही र कागतीको रस
डन्डीफोरका कारण अनुहारमा आउने काला धब्बा कम गर्न गोलभेँडा, दही र कागतीले मद्दत गर्छ। एउटा कचौरामा दुइटा गोलभेँडा, एक चम्चा दही र कागतीको रसलाई मिसाउने। घामले डढेको छालामा लगाउने र ३० मिनेटसम्म राख्ने। पछि चिसो पानीले पखाल्ने। यस मिश्रणमा गोलभेँडा भएकाले अलिकति चिलाउन पनि सक्छ। तर, चिन्ता लिनुपर्दैन। प्याकलाई काम गर्न दिनुपर्छ।

दूध र मेवा
मुछेको मेवा र दूधलाई मिसाएर बाक्लो पेस्ट बनाउने र छालामा लगाउने। सुकेपछि चिसो पानीले धुने। घामले डढेको भागमा मेवाका बोक्रा पनि रगड्न सक्नुहुन्छ। यसबाहेक दूध पाउडरको प्रयोग पनि गर्न सकिन्छ। एक कचौरामा दुई चम्चा दूध पाउडर, एक चम्चा मह र बदाम तेलका केही थोपा हालेर फेसप्याक तयार पार्ने। यसलाई कालोपना भएको भागमा लगाउने। २० मिनेट राखेपछि पखाल्ने। संवेदनशील छालाका लागि यो फाइदाजनक हुन्छ।

प्रतिक्रिया