२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

बैतडी प्रहरीले समात्यो अवैध काठले भरिएको ट्रक

SansherOnline SansherOnline
बिहिबार ०१, चैत २०८० ०९:००
बैतडी प्रहरीले समात्यो अवैध काठले भरिएको ट्रक

बैतडी : बैतडी प्रहरीले वन कार्यालयनजिकबाट अवैध काठले भरिएको ट्रक नियन्त्राणमा लिएको छ । चालकसहित काठ ओसार्दै गरेको ट्रक बैतडी प्रहरीले आवश्यक कारबाहीका लागि वन कार्यालयमा बुझाएको छ ।

प्रहरीले बुधबार मेलौली नगरपालिका –७ र १ नम्बर वडाको मध्यभागमा रहेको हरिपुर बजारमा अबैध काठ ओसार्दै गरेको ट्रक फेला पारेको हो । अवैध काठ समातिएको हरिपुर बजारमै डिभिजन सववन कार्यालय रहेको छ ।  

काठ तस्करी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मेलौलीबाट खटिएको प्रहरी नायव निरीक्षक नरेन्द्रबहादुर चन्दको टोलीले सल्लाका गोलिया बोक्दै गरेको सु.प.प्र. ०२–००१ ख १२१८ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको जनाएको छ । ट्रकमा सल्लाको गोलिया थान –५ (पाँच) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको जानकारीअनुसार ट्रक चालक पञ्चेश्वर गाउँपालिका–२, का ४० वर्षीय लक्ष्मण चन्दलाई नियन्त्रणमा लिई ट्रकसहित आवश्यक कारबाहीका लागि डिभिजन सववन कार्यालयमा बुझाइएको छ ।  

बैतडीको तल्लोस्वराड क्षेत्रका तीन पालिका हेर्नेगरि मेलौली नगरपालिका –६, को जेवलासैनीमा सववन डिभिजन कार्यालयको सरकारी भवन भए पनि यहाँ भूतले तर्साउनेगरेको भन्दै वनका कर्मचारी हरिपुर बजारमा मासिक आठ हजार रुपियाँ भाडा तिरेर निजी घरमा कार्यालय सञ्चालन गर्दैआएका छन् । 

मेलौली सववन डिभिजन कार्यालयमा वन अधिकृतको दरबन्दी भए पनि सरकारी भवन अलपत्र छाडेर हरिपुर बजारमा भाडाको घरमा बसेका छन् । भाडामा सञ्चालित सववन डिभिजनमा वन अधिकृत बस्दैनन् । यहाँको कार्यालय तीन जना वन रक्षकको भरमा चलेको छ । वनका कर्मचारी नभएको फाइदा उठाउँदै तस्करले तल्लो स्वराडबाट ठुलो परिमाणमा अवैध काठ तस्करी गर्दै आइरहेको स्थानीयको भनाइ छ ।   

मेलौली डिभिजन सववन कार्यालयमा कर्मचारी नहुँदा समस्या भइरहेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिपकुमार यादवले बताउनुभयो ।  उहाँले भन्नुभयो, “प्रहरीले अवैध काठ समातेर मातहतको डिभिजनमा बुझाएको खबर आएको छ । जिल्लाबाट टोली खटाएका छौंं । अवैध काठ कहाँबाट आएको रहेछ ? विहीबार थाहा हुन्छ ।”  

प्रतिक्रिया