२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

सुदूरपश्चिममा नयाँ गठबन्धन,मध्यराति तीन मन्त्रीले शपथ लिएपछि नागरिक उन्मुक्ति पार्टीमा किचलो

SansherOnline SansherOnline
शनिबार २६, फागुन २०८० ०५:१९
सुदूरपश्चिममा नयाँ गठबन्धन,मध्यराति तीन मन्त्रीले शपथ लिएपछि नागरिक उन्मुक्ति पार्टीमा किचलो

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको बेला नागरिक उन्मुक्ति पार्टीबाट तीन जनाले रातारात मन्त्रीको शपथ लिएपछि सो पार्टीभित्र किचलो सुरु भएको छ ।

सल्लाहै नगरी मन्त्रीको शपथ लिएको भन्दै नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय नेतृत्व प्रदेशस्थित संसदीय दलप्रति रुष्ट बनेको छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले कमलबहादुर नेतृत्व सरकारबाट हट्न प्रदेश संसदीय दलललाई निर्देशन दिनु भएको छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारलाई दिएको साथ फिर्ता लिएपछि अल्पमतमा पर्नु भएका मुख्यमन्त्री कमलबहादुर शाहले सहयात्री दल नागरिक उन्मुक्ति पार्टीबाट हिजो तीन मन्त्री नियुक्त गर्नुभयो ।

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, सचेतक खुसीराम डङ्गौरा थारु बिना विभागीय मन्त्री र इन्दिरा गिरी भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त हुनु भएको छ । कृषि राज्यमन्त्री कैलाश चौधरीलाई फिर्ता बोलाएर चौधरीको ठाउँमा गिरीलाई मन्त्री नियुक्त गरिएको हो । तीनै जना मन्त्रीलाई हिजो रातारात शपथ ग्रहण गराइएको छ ।

पार्टीसँग सल्लाहबिनै रातारात मन्त्री बनेको भन्दै नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय नेतृत्वले सरकारबाट हट्न निर्देशन दिएको बुझिएको छ । सरकारबाट नहटे कारबाही हुनेसम्मको चेतावनी दिइएको छ ।

पार्टी अध्यक्षले सरकारबाट हट्नका लागि मौखिक निर्देशन दिएको नवनियुक्त आर्थिक मामिला मन्त्री चौधरीले बताउनुभयो । आफ्नो पार्टी पहिलैदेखि प्रदेश सरकारमा रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “नयाँ सरकार गठन भएको होइन । मन्त्रीमण्डल विस्तार हुँदा हामी पुरानै सरकारमा मन्त्री भएका हौँ । अध्यक्ष ज्यूले सरकारबाट हट्न भने पनि लिखित जानकारी मलाई आएको छैन ।” नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी यसअघिबाटै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहनुभएको छ ।

मुख्यमन्त्री शाहले मन्त्रीमण्डल विस्तार गरे पनि प्रदेश सरकार अझै पनि अल्पमतमै रहेको छ । ५३ जना प्रदेश सभा सदस्य रहने सुदूरपश्चिममा बहुमत सरकार चलाउन २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । प्रदेश सभामा रहेका कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका सात गरेर सङ्ख्या २५ पुग्ने गरेको छ ।

सत्तारुढ दल कांग्रेस र नागरिक उन्मुक्ति दुवै पार्टीले अहिलेको अवस्थामा निर्णायक देखिएका स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशी र राप्रपाका प्रदेश सभा सदस्य खेमादेवी विष्टलाई सरकारमा सहभागी हुन जोड गरिरहेका छन् । तर, प्रदेश सभा सदस्यद्वय जोशी र विष्ट दुवै जनाले सरकारलाई साथ दिने सवालमा निर्णय गरिसक्नू भएको छैन । दुवै जनासँग छलफल जारी रहेको जनाइएको छ ।  

प्रतिक्रिया