२०८१ बैशाख २२ गते शनिबार
ट्रेन्डिङ

दशरथचन्दको जन्मघरमा प्रभातफेरी सहित माल्यार्पण गरि मनाइयो (फोटोफिचर)

SansherOnline SansherOnline
मङ्गलबार १६, माघ २०८० ०७:०७
दशरथचन्दको जन्मघरमा प्रभातफेरी सहित माल्यार्पण गरि मनाइयो (फोटोफिचर)

बैतडी : देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज बैतडी लगायत देशभर शहीद दिवस मनाइँदैछ ।

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज बैतडीमा प्रभातफेरी सहित शहीद दशरथचन्दको जन्मघरमा दशरथचन्द लगायत जेष्ठ शहीदहरुको शालिकमा माल्यार्पण गर्दै शहीद दिवस मनाइएको छ ।


कार्यक्रममा उपस्थित सबैले शहीदहरुको सम्झना एवं उनिहरुले गरेको क्रान्तीको प्रसंसा गरेका थिए । उपस्थित सरोकारवालाहरुले अझै सम्म पनि शहीदहरुका सपना पुरा हुन नसकेकोप्रति भने चिन्ताव्यक्त गरेका थिए । 

दशरथचन्दको जन्मघरमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले शहीदप्रति सलामी अर्पण समेत गरेको थियो । यस्तै जिल्लाका अन्य ठाउँमा पनि दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । दशरथचन्द नगरपालिकाले दिवसको अवसरमा नगर सरसफाईका साथै महिलाहरुका लागि एक महिने लोकसेवा कक्षा संचालन गरेका नगरका सूचना अधिकारी राजेन्द्र विष्टले बताउनुभयो । शहीद दिवसकै अवसरमा शहीद दशरथचन्द प्रतिष्ठानले कोभिड-१९ को समयमा आर्थिक संकलन गरि अस्पतालमा अक्सिजन लगायतमा सहयोग गर्ने व्यक्तिहरुलाई समेत सम्मान गरेको थियो । 



 

सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा भने दिएको छैन । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको छ । यद्यपि २०८१ सालदेखि भने शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले २०८० सालमै गरिसकेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनुभयो।

 

वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो ।

यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।

 

मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा चोट पुगेको गुनासा बढ्न थालेको छ ।

शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको सुनिन्छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको भनी जनस्तरबाट टिप्पणी हुने गरेको छ ।

प्रतिक्रिया