२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउन डडेलधुरा सदरमुकाममा सिसी क्यामेरा जडान

SansherOnline SansherOnline
बिहिबार १२, पुष २०८० ०९:५१
अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउन डडेलधुरा सदरमुकाममा सिसी क्यामेरा जडान

तर्कराज भट्ट-डडेलधुरा : डडेलधुरा जिल्ला सदरमुकाम क्षेत्रमा सिसीटिभी / क्यामेरा जडान गरिएको छ । सुरक्षा व्यवस्था चुस्त राख्न भन्दै अमरगढी नगरपालिकाले जिल्ला प्रहरी कार्यालयको साझेदारीमा बजार क्षेत्र भरी सिसीटिभी / क्यामेरा जडान गरेको हो ।

नगरपालिकाले बागबजार क्षेत्र, तुफानडाँडा क्षेत्र, स्याउले क्षेत्र र महेन्द्र स्कुल चोक क्षेत्रमा सिसीटिभी / क्यामेरा जडान कार्य सम्पन्न भएको जनाएको छ । शान्ति सुरक्षा बलियो बनाउनका लागि डडेलधुरामा करिब पाँच वर्ष अघि पनि अमरगढी नगरपालिकाले जिल्ला सदरमुकामको बजार क्षेत्रमा सिसीटिभी / क्यामेरा जडान गरेको थियो ।

तर जोडिएका क्यामेरा एक वर्षमै बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेपछि सुरक्षाको चुनौती थपिएको भन्दै पुनः क्यामेरा जडान गरिएको हो ।

चोरी, डकैती, दुर्घटना, अपराध लगायतका गतिविधि घटाउन नगरपालिका अन्तरगत पर्ने विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालयको निगरानीमा रहने गरी १२ ओटा क्यामेरा जडान गरिएका छन् । क्यामेरा जडान गरेपछि शान्ति सुरक्षामा टेवा पुग्ने भन्दै स्थानीय पनि खुसी भएका छन् ।

सिसीटिभी / क्यामेरा जडान गर्नका लागि नगरपालिकाले १० लाख बजेट छुट्टाएको थियो । नगरपालिकाको वडा नम्बर ५ अन्तर्गत सदरमुकाम क्षेत्रलाई लक्षित गर्दै क्यामेरा जडान भएका छन् । विगतमा क्यामेरा जडान हुँदा समस्या देखिने गरेका कारण यस पटक भने दीर्घकालीन व्यवस्थापनमा ध्यान दिइएको अमरगढी नगरपालिका–५ का वडाध्यक्ष टङ्क क्षेत्रीले बताए ।

परम्परागत सुरक्षा प्रणालीको अन्त्य गर्दै सुरक्षामा प्रविधिको प्रयोग गरी प्रमाणमुखी अनुसन्धानलाई अवलम्बन गर्ने लक्ष्य राखेर सिसीटिभी / क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख (डिएसपी) दीपक कुमार कार्कीले बताएका छन् ।

उनले क्यामेरा जडान भएपछि बजार क्षेत्रमा हुने विभिन्न गतिविधिमा निगरानी राख्न तथा शान्ति सुरक्षा बलियो बनाउन सजिलो हुने अपेक्षा गरिएको बताए । बजार क्षेत्रको गतिविधि सिसीटिभी / क्यामेराबाट चौबीसै घण्टा निगरानी रहने प्रहरीको दाबी छ ।

प्रतिक्रिया