२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

निमित्त प्रमुखको म्याद थप नभएपछि रोकियो नागरिकता वितरण

SansherOnline SansherOnline
सोमबार ०२, पुष २०८० ०८:१३
निमित्त प्रमुखको म्याद थप नभएपछि रोकियो नागरिकता वितरण

बैतडी : बैतडीको हाटस्थित इलाका प्रशासन कार्यालय पुर्चौडीबाट तत्कालका लागि नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्य रोकिएको छ। निमित्त कार्यालय प्रमुखको म्याद थप नभएपछि नागरिकता वितरण रोकिएको हो ।

शाखा अधिकृतको दरबन्दी भएको इलाका प्रशासन कार्यालयमा पदपूर्ति नहुँदा गृह मन्त्रालयले कार्यालयमा कार्यरत सिनियर सुब्बा नन्दराज पन्तलाई ६ महिनाका लागि कायममुकायम मुकरर दिएकोमा सो अवधि पनि सकिएकाले नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्य रोकिएको निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बोहराले बताए ।

एउटै व्यक्तिलाई दोस्रो पटक कायममुकायम मुकरर अधिकार दिन नमिल्ने निजामती सेवा ऐनमा व्यवस्था रहेको निमित्त प्रमुख जिल्ला अधिकारी बोहराले बताए ।

गृह मन्त्रालयले शाखा अधिकृत नखटाउँदासम्म इलाका प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र जारी गर्ने व्यवस्था रोकिने बताइएको छ ।

इलाका प्रशासन कार्यालय पुर्चौंडीबाट नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्य रोकिँदा स्थानीय नागरिकलाई समस्या भएको छ। नागरिकता प्रमाण पत्र बनाउनैका लागि अब सदरमुकाम धाउनुपर्ने बाध्यता आएपछि स्थानीय समस्या परेका हुन् ।

प्रतिक्रिया