२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

कञ्चनपुरमा बसको ठक्करबाट सिगासकी अवस्थीको मृत्यु

SansherOnline SansherOnline
आइतबार ०१, पुष २०८० ०६:२४
कञ्चनपुरमा बसको ठक्करबाट सिगासकी अवस्थीको मृत्यु

बैतडी : कञ्चनपुरमा बसले ठक्कर दिँदा बैतडीकी भागरथी अवस्थीको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–९ गन्सुर घर भएकी ३९ बर्षीया अवस्थीलाई आइतबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११कलुवापुरमा बसले ठक्कर दिएको थियो । 

केही दिन पहिलामात्रै भतिजीको बिहेमा सहभागी हुन आफ्ना श्रीमान शिवराज अवस्थीसहित भागरथी बैतडीबाट कञ्चनपुर गएकी थिइन् । 

आइतबार बैतडी आउने क्रममा उनका श्रीमान शिवराजले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । भागरथीको उपचारकै क्रममा धनगढीस्थित मायामेट्रो हस्पिटलमा मृत्यु भएको उनका आफन्त मुरलीधर अवस्थीले बताए । 

म १ख९३५ नम्बरको बसले सुदुरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । बसले ठक्कर दिएपछि मृतकका श्रीमान शिवराज अवस्थी र १३ बर्षीय छोरा बालकृष्ण अवस्थी घाइते भएका थिए । घाइते बुवाछोरा उपचारपछि डिस्चार्ज भइसकेका भएपनि भागरथीको भने मृत्यु भएको हो । 

सिगासस्थित लालीगुराँश बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक समेत रहेकी अवस्थीको निधनले गन्सुर गाउँ शोकमा डुबेको स्थानीय समेत रहेकी शिक्षिका लक्ष्मी शाह चन्दले बताइन् । सामाजिक कार्यमा सक्रिय भागरथीको निधनले गाउँ शोकमा डुबेको उनले बताइन् । उनले भनिन् ‘भागरथी अवस्थीको निधनले गाउँ शोकमा डुबेको छ । सिगासले एक होनहार महिला गुमाएको छ ।’

सिगास गाउँपालिका ९ स्थित उदयदेव मावि चुवा गन्सुरकी पूर्व विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष समेत रहेकी अवस्थीको निधनले शिक्षा क्षेत्रमा समेत ठूलो क्षति पुगेको उनका आफन्त मुरलीधर अवस्थीले बताए । 

मृतक अवस्थीका दुई छोरी र दुई छोरा रहेका छन् । 

घटनापछि बस र बसका चालक ३२ बर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया