२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

रेडियोमा गीत सुनेर गुनगुनाउन सुरु गरेकी कल्पना, अवसरको प्रतीक्षामा

SansherOnline SansherOnline
मङ्गलबार २६, मङि्सर २०८० ०५:२३
रेडियोमा गीत सुनेर गुनगुनाउन सुरु गरेकी कल्पना, अवसरको प्रतीक्षामा

बैतडी : सुर्नया गाउँपालिका–५, धुलीधारकी १२ वर्षीय कल्पना विष्टले गाएको एउटा गीत अहिले सर्वत्र चर्चामा छ तर कल्पना भने बिजुलीबत्ती र टेलिफोन नभएको गाउँमा गुमनाम भएर बसेकी छन् । लोकगायक विष्णु खत्रीसँग ‘गैरीखेत’ र बाल गायक सुप्रिम मल्लसँग ‘बझाङ बाजुरा’ बोलको गीतमा कल्पनाको आवाज सजिएको छ । यी गीत अहिले युट्युबमा चर्चित छन् ।  सिद्धनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत कल्पनाको स्वर कोइलीको जस्तो सुमधुर भएको श्रोताको भनाइ छ । कल्पनाको गाउँमा बिजुलीबत्ती, इन्टरनेट र टिभी केहीको सुविधा छैन । 

रेडियो तथा एफएममा लोकगीत सुनेर गीत गुनगुनाउन सुरु गरेकी कल्पनाका दुइटै गीतले बजार तताएपछि आफन्त पनि निकै खुसी देखिएका छन् । बुवा नरेन्द्र विष्ट रोजगारीका लागि भारत जानुभएको छ । गरिबी अभावसँग सङ्घर्ष गरेर गीत/सङ्गीत सिक्ने र पढ्ने रहर छ उनको । गरिबीका कारण पढ्न र गीत/सङ्गीत सिक्न नपाएको कल्पनाले पीडा सुनाउनुभयो ।  घरको आर्थिक अवस्था नाजुक भएका कारण गीत/सङ्गीतसँगै पढाइ गर्ने कल्पनाको धोको अधुरै रहेको आमा सानु विष्टले बताउनुभयो । छोरीको स्वर राम्रो भएर पनि अवसर नपाएकाले पछि परेको भनाइ आमाको छ । युट्युबमा चर्चा बटुल्न आउनेको सङ्ख्या बढी भए पनि पढाइमा सहयोग गर्ने कुनै निकाय नआएको कल्पनाले बताएकी छिन् । गाउँपालिकामा रहेको महिला तथा बालबालिका शाखाले कुनै चासो र सहयोग गरेको छैन ।

प्रतिक्रिया