२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

बैतडीमा पनि सुरु भयो राष्ट्रिय परिचयपत्र वितरण, लिन आफैँ आउनुपर्ने

SansherOnline SansherOnline
बुधबार २०, मङि्सर २०८० ०८:४२
बैतडीमा पनि सुरु भयो राष्ट्रिय परिचयपत्र वितरण, लिन आफैँ आउनुपर्ने

गौरव चन्द-बैतडी : बैतडीमा राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरेको छ। २०७७ साल असोज २ गते देखि विवरण सङ्कलन गरिएको भएपनि तयार भएर ढिलो आएकोले ३ वर्षपछि मात्रै वितरण गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । 

विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम हालै सुरु गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयम् व्यक्ति नै उपस्थित हुनुपर्ने पन्थीले जानकारी दिनुभयो । 

प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने जनाएको छ । कार्यालयका अनुसार सबै वितरण गर्दा भिड हुने भएकोले मोबाइलमा सन्देश पठाएर वितरण गर्ने गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन तथा वितरणको लागि कार्यालयले राष्ट्रिय पचियपत्र तथा पञ्जिकरण विभाग स्थापना गरिएको छ । 

वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान-श्रीमतिको नाम, स्थायी-अस्थायी ठेगाना पर्दछन् । जैविक विवरण अन्तर्गत औँठाछाप, दुई वटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ । नागरिकका सेवा सुविधाहरू सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्त्वपूर्ण छ । राहदानी बनाउन आउनेले अनिवार्य रूपमा पहिला राष्ट्रिय परिचयपत्रको विवरण भरेको हुनुपर्ने नियम छ ।

यदि तपाईको मोबाइलमा यो व्यहोराको SMS प्राप्त भएको छ भने आफ्नो कागजात सहित राष्ट्रिय परिचय पत्र प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय, बैतडीमा आउनुहोला ।

प्रतिक्रिया