२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

अट्वारी मनाउँदै थारु, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

SansherOnline SansherOnline
आइतबार ३१, भदौ २०८० ०९:०८
अट्वारी मनाउँदै थारु, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

धनगढी: पश्चिम नेपालका थारू समुदायले आज (आइतबार) आट्वारी पर्व मनाइरहेका छन्। शनिबार राति दर खाएर दिनभर व्रत बसेका उनीहरुले साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाना खान्छन्। अट्वारीका दिन बिहान भात–तरकारी पनि देउतालाई चढाइसकेपछि खाने चलन छ। 

रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालई चढाएर दिदीबहिनीका लागि ‘अग्रासन’ (दिदीबहिनीका लागि छुट्याइने परिकार) छुट्याइ बनाइएका पारिकार खाँदै यो पर्व मनाउने परम्परा रहेको छ।

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याइ अग्नि देवतालाई चढाइसकेपछि खाना खाइन्छ। पहिलो दिन फलफूल र रोटी मात्र खाने र बिहान दिदीबहिनीलाई भात तरकारीको अग्रासन दिन जाने गरिन्छ।

आफ्ना दिदीबहिनीका घरमा पुगेर अग्रासन दिइसकेपछि अटवारी पर्व सकिन्छ। यसबाट दाजुभाइ तथा दिदीबहिनीका बीचमा स्नेह र ममता प्रगाढ हुने विश्वास थारू समुदायमा छ। थारु अगुवाका अनुसार अट्वारी पर्व मनाउने मुख्यकारण ऐतिहासिक घटनासँग जोडिएको छ।

अट्वारी पर्व दाङका थारुराजा दंगीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्वन्धित छ। महाभारतका पाँच पाण्डवहरु र दाङका थारुराजा दंगिशरण बीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो। पाँच पाण्डव र द्रौपदी सवैजना सुर्खेतको काँक्रेविहारमा घुम्नेबेला दाङका थारुराजा दंगिशरणको राज्यमा शत्रुहरुलाई आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छोडेर ५ पाण्डवमध्ये भीम भोकै पेटमा पानीसमेत नखाइ राजा दंगिशरणको पक्षमा लडेका थिए भन्ने जनस्रुति छ।

भीमले राजा दंगिशरणको पक्षमा लडेर शत्रुहरुलाई हराउन सफल भएका थिए। त्यही जितको उत्सवको अवसरमा थारु समुदायले अट्वारी मनाउँदै आएका छन्। भीमजस्तै बलियो हुनको लागि पानीसमेत नखाइ थारु समुदायले अट्वारी पर्व मनाउँदै आएका छन्।

अट्वारी पर्व तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायहरुले प्रायः मनाउँछन्।

थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। प्रदेश भरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ।

प्रतिक्रिया