२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

बुवाको मुख हेर्ने हैसियत छ ?

SansherOnline SansherOnline
बिहिबार २८, भदौ २०८० १०:०७
बुवाको मुख हेर्ने हैसियत छ ?

 बिन्दु चन्द- बुवा भन्ने शब्दै क्या छ । बुवा भनेपछि त ....? के भनु? म महसुस गर्न सक्छु तर वर्णन गर्न भने मसँग कुनै शब्द नै छेैन ।

मसँंग मात्रै होईन बुवाको वर्णन गर्न कसैसंग पनि कुनै शब्द नै नहोलान् । जो युवा तथा बढ्दो  उमेरमा पनि बुवासंग हुनुहुन्छ । उहाँ भन्दा बुवाको अभाव खड्केकाहरुलाई बुवाको महत्व बढी थाहा हुन्छ होला । 
म पनि बुवाको अभाव खड्केको मान्छे हुँ । बुवाले छोडेर जाँदा म ४ कक्षामा पढ्थे । चाँडबाँड, मेला महोत्सब आउँदा बुवाको हात समाउँदै घुम्न जाने अनि आवश्यक्ताका मालसामान किन्न बुवासंग भन्नु पर्ने । नभन्दै पुरा पनि हुने । आहा! त्यो दृश्य सम्झिँदा बालापनको खुब याद आउँछ । भक्कानो फुटेर आउँछ । आँखामा तप्प आँसु खसेको पत्तै हुँदैन । 

अहिले कसैले कहिँ कतै जान बुवासंग सोध्नुपर्ने, कुनै कामकाज गर्न बुवाबाट सल्लाह लिएको देख्दा सोचिन्छ सायद मेरा पनि बुवा भइदिएको भए म कहाँ हुन्थे होला । विभिन्न कल्पनाहरु ग्रिन्छन् । सायद राम्रो पढाइ गरेर सरकारी कर्मचारी हुन्थे होला । केही नभएपनि राम्रो खान लाउन सक्ने अवस्थामा त हुन्थे होला । खैर छोड म पनि.....।

आज कुशे आँैसी तथा बुवाको मुख हेर्ने दिन । आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने र बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ । तर यो परम्परा थियो भन्ने कमैलाई थाहा होला । म पनि यो परम्पराप्रति अनविज्ञ नै हुँ । विगत ३।४ वर्षदेखि मात्रै मैले यो परम्पराको बारेमा थाहा पाएको हुँ । किनभने मैले कहिल्यै बुवाको मुख हेर्ने दिवस मनाएको छैन र मेरो समुदायमा पनि मनाउँदैनन् । अहिले पनि कसैले यो दिवस मनाउँदैनन् । बस यति थाहा छ बुवाको मुखहेर्ने दिनलाई सामाजिकसञ्जाल मार्फत मात्रै मनाइन्छ । 

मेरो कुराले कसैको चित्त दुःख्न सक्छ त्यसको लागि माफि चाहान्छु । धमाधम सामाजिक सञ्जालमा बुवाको तस्बिर राखेर शुभकामना दिने तपाईले के बुवालाई एक फोन (कल) गरेर सोध्नुभयो ? बुवा तपाई कस्तो हुनुहुन्छ भनेर? अहं विल्कुलै नहोला । बुवा आज त हजुरको मुख हेर्ने दिन भनेर स्वतन्त्र भइ हृद्धयबाटै तपाईले खुसीका साथ भन्नुभयो बुवा आज तपाईको मुख हेर्ने दिन हो शुभकामना भनेर? अहँ बिल्कुलै नहोला ।

किनभने आमाबुवासंग झै–झगडा गरि बर्षौँदेखि अलग्गिएर बसेका बुवासंग बोलचालै बन्द गरेका दाजुभाइले बुवाको एक तस्बिर सामाजिक सञ्जालमा पोष्ट्याएकोबाट  स्पष्ट थाहा हुन्छ कि यो खालि एक ड्रामा (नाटक) हो भनेर । 

जव सानो हुँदा बुवाले बुइ लगाउँदा, काँधमा चढाउँदा बुवाकै शरिर हाम्रा लागि शौचालय थियो । यी यस्ता कुराको ऋिण तिर्न त सकिन्न यो त सबैलाई थाहा भएकै कुरा हो । यो सब छोडि दिउँ । तर हामीलाई हुर्काउन, बढाउन, पढाउन तथा हामी आफ्नो खुट्टमा नउभिञ्जेलसम्म बुवाले गरेको परिश्रम उहाँले बगाएको पसिनाबारे हामीले कहिल्यै सोच्दैनाँै, कल्पना पनि गर्दैनौँ कि कति मेहनत लाग्दो हो ।

बुवाले गरेको यो परिश्रम र पसिनामा हामीले रजाइँ गर्छौँ । फुर्ति लगाउँछाैँ । तर यो फुर्ति कुन खम्बाले टिकाइराछ भन्ने कुराको हामीलाई ख्यालै हुन्न । तपाईलाई थाहा छ जब कुनै अनजान ब्यक्तिले ए! तपाई फलानोको छोरा पो! हो ? ती व्यक्ति यो काम कार्य तथा यी कुराहरुमा असल थिए अर्थात छन् । तब बल्ल हामीलाई थाहा हुन्छ एह! बुवा त यो काम गर्दा रहेछन् । 

म पनि बुवाले गर्ने कार्यबारे अनविज्ञ थिए नि । तर मलाई उहाँले समाजप्रति गरेको असल कामकार्य र असल ब्यवहारले चिनायो । 

बुवामा र हामीमा कति फरक छ । हामी झुत्रे भएको बुवाले हेर्न सक्नुहुन्न, भावनात्मक रुपमा बुवाले राम्रो खाएको लाएको हामी हेर्न सक्दैनौँ । त्यहाँ हाम्रो प्रश्न खडा भइहाल्छ ।  हामीले मन पराएको कुरा ल्याउन बुवालाई सेकेण्ड लाग्दैन होला तर हामीले बुवालाई मन परेको कुरा ल्याउन बषौँ लाग्नसक्छ ।

आफ्नो खुट्टामा उभिएर खाइरहेका हामीले एक पल्ट पनि आफ्नो तर्फबाट खुसीका साथ बुवा के चाहिन्छ? भनेर न सोध्या हाँैला । हामीले बुवालाई भन्न नसकेका कुरा बुवाले आफैँले बुझेर पुर्ति गरिदिनुहुन्छ । तर हामीले देखि रहन्छाँै बुवाले झुत्रो लाएको र पनि हामी राम्रो ल्याइदियौँ भन्ने हिम्मत पनि राख्दैनौँ । 

मानौँ बुवा बिरामी भएर छटपटिनुहुन्छ र पनि म ठिक छुँ भन्नुहुन्छ । हाम्रो मनले बुवालाई केही नहोस् भन्ने त प्रार्थना गरिरहन्छ तर बुवाले उपचार गर भनेर नभनि दिए राम्रो हुन्थ्यो भन्ने पनि मनमा खेलिरहन्छ । 

बुवा अन्जानमा पनि हाम्रो  आवश्यक्ता पुर्ति गर्नुहुन्छ तर हामी जानाजान पनि बुवाका आवश्यक्ता पुर्ति गर्न सक्दैनाैँ । 

लेख्दा–लेख्दा कागज सकिएला, कलमको मसि सकिएला तर शब्दहरु कहिल्यै सकिन्नन होला । मेरा यी यस्ता कुराले कसैको चित्त दुःखे म माफि चाहान्छु तर वास्तविक कुराहरु यीनै हुन् । साँच्चिकै मलाई हृद्धयबाटै प्रफुल्लित भएर गर्वका साथ बुवाको मुख हेर्ने हैसित छैन् । के बुवाको मुख हेर्ने हैसियत तपाइको छ? 

प्रतिक्रिया