२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

आजदेखि एसईई परीक्षा, बैतडीमा ५ हजार बढी विद्यार्थी सहभागी हुँदै

SansherOnline SansherOnline
बिहिबार १५, चैत २०८० ०६:१०
आजदेखि एसईई परीक्षा,  बैतडीमा ५ हजार बढी विद्यार्थी सहभागी हुँदै

बैतडी : यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ। बैतडीमा एसईईका लागि २५ ओटा केन्द्र निर्धारण गरिएका छन् । ती केन्द्रहरुमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाइएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए । 

आज बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ । परीक्षालाई मार्यादित, भयरहित, शान्त र स्वच्छ वातावरणमा सम्पन्न गर्न हरेक केन्द्रहरुमा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । यसका साथै माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिका पदाधिकारीहरुले परीक्षाको अनुगमन गर्ने बताइएको छ ।  

यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ। विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्ष विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ । 

एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनु पर्ने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ। ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ। 

३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ। विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ। 

यो बर्ष बैतडीमा २ हजार ४ सय ५८ छात्र र २ हजार ६ सय ३० छात्रा गरेर ५ हजार ८७ परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । साधारणतर्फ २ हजार २ सय ४ जना छात्र र २ हजार ४ सय छात्रा परीक्षामा सहभागी हुनेछन् भने ग्रेडवृद्धितर्फ ९४ छात्र र १ सय १६ छात्रा गरेर २ सय १० जना सहभागी हुने सूचना अधिकारी शर्माले बताए ।  

प्राविधिकधारतर्फ १ सय ५९ छात्र र १ सय १४ छात्रा गरेर २ सय ७३ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ ।  

 

प्रतिक्रिया