२०८१ बैशाख २२ गते शनिबार
ट्रेन्डिङ

किताब बेच्दै डा.महावीर पुन : दुई करोड ५५ लाख संकलन

SansherOnline SansherOnline
आइतबार २१, माघ २०८० ०८:५२
किताब बेच्दै डा.महावीर पुन : दुई करोड ५५ लाख संकलन

बैतडी : वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्न डा.महावीर पुन पुस्तक बिक्री गर्ने क्रममा बैतडी पुग्नुभएको छ । डा.महावीर पुनको जीवन गाथा समेटिएको पुस्तक बिक्री गर्न उहाँ आफै बैतडी पुग्नुभएको हो । कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेर मेची महाकाली महाअभियान सञ्चालनका क्रममा ३४ हजार पुस्तक बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो । 

“काठमाडौँबाट दुई हजार दुई सय किलोमिटर यात्रा गरेर १९औँ जिल्ला बैतडी पुगियो,” डा. पुनले भन्नुभयो,“ पुस्तक बिक्री गर्दै हिँड्दाको यात्रा निकै रमाइलो भयो । सबैले माया गरेर १२ हजार पुस्तक किनिदिनु भएको छ । होटल बास बसेको पैसा लिँदैनन् । पुस्तक बिक्री गरेको दुई करोड ५५ लाख रुपियाँ चोखो बच्यो ।”

उहाँले अगाडि भन्नुभयो, “कृषि औजार कारखाना सञ्चालनका लागि पुस्तक बिक्री गर्दै २६ दिनमा बैतडी पुगियो । कृषि औजार कारखाना तुरुन्तै सञ्चालनका लागि मलाई अहिले नै पैसा आवश्यक परेकाले हतोहात किताब बिक्री गर्दै हिँडिरहेको छु ।” 

कृषि औजार कारखाना सञ्चालनमा ल्याएर नेपालका ग्रामीण क्षेत्रका किसानको हातमा कृषि औजार पठाउने लक्ष राखिएको उहाँले जानकारी दिनुभयो । चीन र भारतबाट जे जति मात्रामा अहिले कृषि औजार आयात भइरहेको छ, त्यसको १० प्रतिशत औजार स्वदेशमै उत्पादन गर्न सके पनि ठुलो पुँजी स्वदेशमै रोक्न सकिने उहाँले स्मरण गराउनु भयो । 

व्यक्तिगत लाभका लागि नभई राष्ट्रको कृषि औजार कारखाना सञ्चालनका लागि आफू लागि परेको स्पष्ट पार्नुहुँदै डा. पुनले अहिलेसम्म ३४ हजार पुस्तक बिक्री गरेर दुई करोड ५५ लाख रुपियाँ प्राप्त भइसकेको बताउनुभयो । 

यसैबिच डा. महावीर पुनले बैतडीका सञ्चालन भइरहेको कपडा बैङ्कलाई केही थान कपडासमेत प्रदान गर्नुभएको छ । उहाँले पुस्तक बिक्री गर्न विभिन्न जिल्ला पुग्दा समर्थकले स्वागतका लागि ओढाएको सल कपडा बैङ्कलाई प्रदान गर्नुभएको छ । डा.महावीर पुन शनिबार बैतडीबाट कञ्चनपुरका लागि हिँड्नु भएको छ ।  

प्रतिक्रिया