२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

माओवादी केन्द्रको उल्टो बाटो, सरकारमा बसेर सडक संघर्ष चर्काउने घोषणा

SansherOnline SansherOnline
मङ्गलबार १४, कार्तिक २०८० ०७:२३
माओवादी केन्द्रको उल्टो बाटो, सरकारमा बसेर सडक संघर्ष चर्काउने घोषणा

 काठमाडौं : सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ । गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी खेमाबाट भइरहेका प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर गर्ने भन्दै माओवादी केन्द्रले सडक संघर्ष गर्न लागेको हो ।

मंगलबार बिहान जारी सर्कुलर अनुसार माओवादी केन्द्रले मंसिर २२ गते काठमाडौंमा सडक संघर्ष गर्नेछ । सरकारमा बसेर राज्यका नीतिहरु कार्यान्वयन गर्नुपर्नेमा माओवादी केन्द्रले प्रतिपक्षी दलको व्यवहार देखाउन लागेको हो ।


दुई दिनअघि बसेको पार्टीको पदाधिकारी बैठकका निर्णयबारे सर्कुलर पठाउँदै माओवादीले मातहत कमिटी र भ्रातृसंगठनहरुलाई मंसिर २२ को तयारीमा उत्रन निर्देशन दिएको छ ।

‘लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाभिमानको रक्षा, प्रतिगमनको विरोध’ – माओवादीको सर्कुलरअनुसार सडक संघर्षमा यसबारे खबरदारी गरिनेछ ।

माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार पहिलो चरणमा काठमाडौंमा संघर्षको कार्यक्रम घोषणा गरिएको हो । त्यसपछि प्रदेश र पालिका तहसम्म पुग्ने उनले जानकारी दिए ।

पार्टी अध्यक्ष नै प्रधानमन्त्री भएको बेलामा किन सडकमा जाने निर्णय गर्नुभयो रु यो प्रश्न हामीले सापकोटालाई सोध्यौं ।

उनले भने, ‘व्यवस्थाविरोधी अराजकता देखिएका छन्, लोकतन्त्रको रक्षाका लागि हामीले नागरिकहरुलाई पार्टीको लेभलबाट पनि सचेत गराउनुपर्छ । सडकको संघर्ष भनेको एक किसिमले जनपरिचालन हो भनेर बुझ्दा हुन्छ । यो हामी देशैभरि गर्नेछौं ।’

पार्टीमा सरकारमा हुँदैमा जनताको बीचमा जान नहुने भन्ने नभएको उनले तर्क गरे ।

माओवादीले विदेशी शक्तिसमेत परिवर्तन उल्ट्याउन सक्रिय भएको विश्लेषण गरेको छ । तर ती शक्ति को हुन् भन्नेबारे सर्कुलरमा प्रष्ट गरिएको छैन । सरकारले उपलब्धि उल्ट्याउने षड्यन्त्रलाई कसरी चिर्नेछ भन्नेबारे प्रधानमन्त्री तथा गृहमन्त्री भएको पार्टीले कुनै सूचना वा धारणा दिएको छैन ।
समाचार स्रोत, अनलाईन खवर

प्रतिक्रिया