२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

कानूनमन्त्री जोशीले गरीन दार्चुला कारागारको निरीक्षण

SansherOnline SansherOnline
बुधबार २१, पुष २०७८ ०६:२४
कानूनमन्त्री जोशीले गरीन दार्चुला कारागारको निरीक्षण

बैतडी।सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले दार्चुला कारागारको निरीक्षण गर्नुभएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको मार्मा गाउँपालिका भेलाको उद्घाटन गर्न मंगलवार दार्चुला पुगेकी मन्त्री जोशीले बुधवार जिल्ला कारागारको निरीक्षण गर्नु भएको हो ।कारागारको सुदृढीकरण गर्ने कार्यक्रम अन्तर्गत कारागारको अवस्था लगायतका बारेमा अनुगमन निरीक्षण गरिएको मन्त्री जोशीले बताइन् । अहिले प्रदेशभरिका कारागारहरुमा कैदीबन्दी क्षमताभन्दा बढी रहेको हुँदा पनि अनुगमन गर्नुपरेको उनको भनाइ थियो ।

उनले कारागारभित्रका कैदीबन्दीहरुको आयआर्जनका लागि सीपमूलक कार्यक्रमअन्तर्गत प्रदेश सरकारले दार्चुलालाई रु ४ लाख बजेट विनियोजन गरेको जानकारी दिईन् । कारागारभित्र रहेका कैदीबन्दीले सीपमूलक कार्य गर्न सकून् र व्यावसायिक बन्न सकून् भन्ने उद्देश्यले बजेट विनियोजन गरिएको हो ।

यस्तै चालू आर्थिक वर्षमा जिल्ला कारागारको मर्मतसम्भारका लागि ८ लाख बजेट विनियोजन गरिएको छ । जिल्ला कारागारका जेलर वीरेन्द्र सिंह धामीले जिल्ला कारागारभित्र क्षमताभन्दा बढी कैदी तथा थुनुवा राख्नुपर्ने बाध्यता रहेको बताए । २५ पुरुष र १५ महिलाको क्षमता रहेको कारागारमा अहिले ६९ जना कैदीबन्दी रहेका छन् । कारागारमा अहिले दुई महिला र ६७ पुरुष रहेका छन् । एकजना नाबालकसमेत छन् ।

जिल्ला कारागारको अवस्था लगायत दार्चुला जिल्लाको समग्र अवस्थाका बारेमा बुझ्न आफूले जिल्ला भ्रमण उनले बताइन् । आगामी आर्थिक वर्षका योजना बनाउनका लागि समेत जिल्लाको अवस्थाको बारेमा बुझ्न आफू दार्चुला आएको उनको भनाइ थियो । 

मन्त्री जोशीसंगै सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बु सिंह बोहरा, प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट, जेलर बीरेन्द्र सिंह धामी लगायतको टोलीले कारागारको निरीक्षण अनुगमन गरेका हुन । मन्त्री जोशीले बुधवार सरकारी कार्यालयका प्रमुखहरुसँग अन्तरक्रिया कार्यक्रम गरी जिल्ला कारागार, दार्चुला भन्सार कार्यालय, सीमा नाकाको हेल्थ डेस्क समेतको निरीक्षण गर्नु भएको छ ।

प्रतिक्रिया