२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

न्यायाधीश कुमार चुडाल र सपना मल्लको संयुक्त इजलासमा आज सन्दीपको मुद्दाको सुनुवाई

SansherOnline SansherOnline
आइतबार १४, फागुन २०७९ ११:५२
न्यायाधीश कुमार चुडाल र सपना मल्लको संयुक्त इजलासमा आज सन्दीपको मुद्दाको सुनुवाई

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राखेर प्रक्रिया अघि बढाउने अथवा धरौटीमा रिहा गर्नेबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। मुद्दा न्यायाधीश कुमार चुडाल र सपना मल्लको संयुक्त इजलासमा एक नम्बरमा छ।

सन्दीपले लिग टु अन्तगर्तको सिरिज खेल्न युएई जान पाउँ भनी दिएको निवेदनमा अदालतले अन्तरिम आदेश दिएको थिएन। सो मुद्दा पनिसँगै राखेर अदालतले सुनुवाइ गर्न लागेको हो।

पाटन उच्च अदालतले पुस २८ गते धरौटीमा रिहा गर्न दिएको आदेशविरुद्धको रिटसहित आज दुवै रिटको एकै ठाउँमा सुनुवाइ हुनेछ। उच्च अदालतको आदेश त्रुटिपूर्ण भएकोले पुर्पक्ष थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्याधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले दुवै निवेदन एकसाथ राखेर आइतबार पेस गर्न आदेश दिएका थिए। सन्दीपमाथि नाबालिग जबरजस्ती करणीको आरोप लागेको छ।

उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनीमाथि लगाएको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिममा समावेश गरेको थियो।

निलम्बन फुकुवापछि राष्ट्रिय टिममा पुनरागमन गरेका उनले लिग टु अन्तर्गत घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिजमा सानदार प्रदर्शन गरेका थिए। चार खेलको उक्त सिरिजमा उनले १३ विकेट लिएका थिए।

विश्व क्रिकेट लिग टु अन्तर्गत सोमबारदेखि युएई सिरिज सुरु हुँदैछ। नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ। घरेलु मैदानमा प्रदर्शन गरेको लयलाई कायमै राख्न नेपाललाई चुनौती हुनेछ।

सन्दीपको उपस्थिति बिना मैदान उत्रिदा नेपाल बलरमाथि दबाब पर्नेछ। उनको स्थानमा नयाँ खेलाडीले अवसर पाउने सम्भावना छ।

प्रतिक्रिया