२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

आजदेखि सबै प्रदेशबाट श्रम स्वीकृति

SansherOnline SansherOnline
आइतबार २४, पुष २०७९ ०९:०१
आजदेखि सबै प्रदेशबाट श्रम स्वीकृति

काठमाडौंस् काठमाडौं केन्द्रित सेवालाई विकेन्द्रित गर्दै लैजाने नीतिअनुसार आजबाट विराटनगर र जनकपुरबाट श्रम स्वीकृति प्रदान गर्ने सेवा थपिएको श्रम प्रवक्ता डन्डुराज घिमिरेले बताए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारबाट विराटनगर र जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गर्ने भएको छ।

यसअघि संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृतिलगायत सेवा पोखरा र बुटवलबाट सुरु गरिएको थियो। सुर्खेत र धनगढीबाट भने पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिइँदै आएको छ। चार स्थानबाट संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति र दुई स्थानबाट पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान भएको घिमिरेले बताए।

‘श्रम स्वीकृतिका लागि भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन। सबै सेवा अनलाइन प्रणालीमार्फत नै पाउने व्यवस्था गरिएको छ,’ उनले भने। श्रम मन्त्रालयले समयमै श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिन आग्रह गरेका छन्। ‘संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिका लागि समयमै अनलाइन आवेदन नगर्ने अवस्था छ।


श्रम स्वीकृतिका लागि आवेदन गर्नुअघि नै टिकट किन्ने, कम्प्युटर प्रणालीबाट निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणालीविपरीत अन्तिम समयमा मात्र पेस गर्ने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘यस्तो हुनु भनेको सुधारका दृष्टिले उपयुक्त नभएकाले समयमै आवेदन गर्न मन्त्रालयको आग्रह छ।’

वैदेशिक श्रम स्वीकृतिमा अनलाइन प्रणाली पूर्ण रूपमा लागू गरी नागरिकलाई प्रविधिमैत्री सरकारी सेवासुविधा दिन सफल भएको भन्दै वैदेशिक रोजगार विभागलाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरिएको पनि मन्त्रालयले जनाएको छ।


 

प्रतिक्रिया