२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

जब पत्रकारले नै हाकिमको दलाल बनेर सिपाहीलाई पुर्याए जेल

SansherOnline SansherOnline
बिहिबार १९, साउन २०७९ ०२:०९
जब पत्रकारले नै हाकिमको दलाल बनेर सिपाहीलाई पुर्याए जेल

दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरीको ४४ नम्बर गणमा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुलाई जन्मकैदको माग दाबीसहित मुद्दा चलाएर पुर्पक्षको निम्ति जेल पठाइएको छ । सिपाहीलाई बिदा छाडेर हाकिमले तिनको राशन खाइदिएको विवरण मिडियालाई उपलब्ध गराएको अभियोगमा उनीविरुद्ध सशस्त्र प्रहरीको विशेष अदालतमा असार २२ गते मुद्दा दायर गरिएको थियो ।

यसमा अचम्म त के छ भने हाजिर विवरण तयार पार्ने आइडी नम्बर ५३३७७ का जवान भुवनसिंह धामीले प्रकाशित विवरण सत्य भएको बयान दिएका छन् । अर्कातिर आफू कार्यरत सञ्चारमाध्यममा प्राप्त समाचारलाई स्थान नदिई अन्यत्रै सूचना चुहाउने पत्रकारद्वयले श्रोतको गोपनीयता छरपष्ट पारी आफ्नो पेशागत न्यूनतम आचारसंहिताको समेत धज्जी काढेका छन् । एमाले अखिलको पूर्व जिल्ला उपाध्यक्षसमेत रहेका तिनै पत्रकारको चुक्लीका आधारमा विचरा ती जवान जेल पुगेका छन् ।

उक्त गणमा कार्यरत २ सय ५८ मध्ये १ सय २२ जना सुरक्षाकर्मी एकैदिन अनुपस्थित भएको विवरणसहित जेठ २८ गते धनगढीबाट सञ्चालित दिनेशखबर डटकम अनलाइनमा समाचार सार्वजनिक भएको थियो । केही दिन उपस्थित र अनुपस्थित प्रहरी कर्मचारीको संख्यात्मक विवरणसहित समाचार सम्प्रेषण भएको हो ।

सशस्त्र प्रहरीले ‘सुरक्षासंग सम्बन्धित सूचना तथा खबरहरु राष्ट्रिय वा अन्तर्राष्ट्रिय अनाधिकृत व्यक्ति, संस्था वा समूहलाई उपलब्ध गराएमा, गराउन प्रयास गरेमा वा कसैलाई त्यस्तो गर्न दुरुत्साहन गरेमा’ जन्मकैदको सजायँ हुने व्यवस्था भएकोले सोहीअनुसारको माग दावीसहित मुद्दा दर्ता गरिएको छ । सशस्त्र प्रहरी ऐन २०५८ को दफा २७ को उपदफा १ ९च०बमोजिम आरोपी नरेशसिंह साहुलाई जन्मकैदको सजायँ हुनुपर्ने कानुन महाशाखाको दाबी छ ।

मानवस्रोत विभागअन्तर्गत कानुन महाशाखाले अनुसन्धान प्रक्रिया पूरा गरी मुद्दा दर्ता गरिसकेको छ । २०७९ सालको दर्ता नम्बर २ रहेको यो मुद्दाको भदौ महिनाभित्रै सुनुवाई हुने बताइएको छ ।

साहुले कार्यरत जनशक्तिमध्ये आधाजसो विदा बस्ने गरेको विवरण मिडियालाई उपलब्ध गराएका थिए । दार्चुलाका स्थानीय दुई जना पत्रकारमार्फत यो विवरण सार्वजनिक गरिएको थियो । २८ गते दिनेशखबर डटकममा समाचार प्रकाशित भएकोमा त्यसको दुई दिनपछि ४४ नम्बर गणले पत्राचारमार्फत खण्डन गरेको थियो । सशस्त्र प्रहरीको गणले समाचारमा दिइएका तथ्यांक र विवरण झुटा भएको बताए पनि मुचुल्का र मुद्दा फाइलमा भने हाजिरी विवरण वास्तविक भएको उल्लेख छ ।

जेठ महिनाको अन्तिममा सशस्त्र प्रहरीको सुरक्षाघेरामा राखेर नरेशलाई दार्चुलाबाट कैलालीको अत्तरियास्थित बाहिनीमा झारिएको थियो । अत्तरियामा केही कागजपत्र तयार गरेपछि हल्चोक हेडक्वाटर पठाइयो । हाल उनी जेलमा छन् ।

सशस्त्र प्रहरीका इकाइहरुभित्र एकैपटक सयौं सुरक्षाकर्मीलाई विदा छोडेर उनीहरुको राशनभत्ता बाँडिचुँडी खाने गरेको आरोप धेरै वर्षदेखि लाग्दै आएको छ । यसै कारण केही स्थानमा सशस्त्र प्रहरीभित्रै विद्रोहको अवस्था पनि देखिएको थियो भने साउन २ गते उपत्यकाभित्रका ५ वटा गण र गुल्ममा आकस्मिक अनुगमन गर्दासमेत बाहिनीपति वंशी दाहालसहितको डरलाग्दो कैफियत भेटिएको थियो ।

राशनभत्ताको नालीबेली छताछुल्ल हुने चिन्ताले अहिले दार्चुलाको यो प्रकरणलाई ढाकछोप गर्न नेतृत्व कस्सिएको छ । ‘वरिष्ठ हवल्दार नरेश सिंह साहुलाई बलीको बोको बनाएर राशनभत्ता बाँडिचुँडी खाने परम्परालाई निरन्तरता दिने प्रयास हुँदैछ’ सशस्त्रकै पूर्वी नेपालमा तैनाथ एक गुल्मपति बताउँछन् ।

हवल्दार साहुले उपस्थित र अनुपस्थित कर्मचारीको विवरण मात्रै मिडियालाई उपलब्ध गराएका छन् । त्यो राज्यविरुद्धको अपराध हँदै होइन । जबकि उनलाई गणको हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको अभियोग लगाइएको छ । प्रकाशित समाचारमा पनि सशस्त्र प्रहरी कर्मचारीहरुको दैनिक उपस्थिति र अनुपस्थितिको विवरण मात्रै उल्लेख छ ।

देशभरका सबैजसो युनिटमा यस्तै विकृति भएकाले अन्तबाट पनि यस्तो आवाज बाहिर नआओस् भनेर निरीह हवल्दारविरुद्ध सिंगो संगठन अहिले क्रुर बनिरहेको स्रोत बताउँछ । उनीविरुद्ध दर्ता गरिएको मुद्दाको फाइलमा मिडियामा सार्वजनिक उपस्थिति र अनुपस्थिति विवरण सही भएको स्वीकारिएको छ । विवरण सही भएको स्वीकार्ने अनि वास्तविकता बाहिर ल्याएर हाकिमको बदमासी उजागर गरी ब्यारेकको अवस्था चुस्तदुरुस्त राख्न खोज्नेलाई जन्मकैदको सजाय माग गर्ने दोहोरो चरित्र यहाँ प्रस्तुत भएको छ ।

‘संगठनभित्र भएको खराब पक्षलाई हाकिमले नसुनेपछि आमनागरिकको जानकारी र सरोकारका लागि सार्वजनिक गर्नु अपराध हुँदैन’ एकजना निवर्तमान सैनिक जर्नेलको भनाइ छ ।

सार्वजनिक हाजिरी विवरण वास्तविक हो भने त्यति ठूलो संख्यामा सुरक्षाकर्मी अनुपस्थित हुने विषय धेरै गम्भीर हुन्छ, यसबारे गम्भीर अनुसन्धान गरी हाकिमलाई चाहिँ कारवाही हुनुपर्ने हो तर एकजना गरिबको छोरोलाई जागिरबाट हटाउने मात्रै होइन, जन्मकैदको पिँजरामा फसाउने चक्रव्युह बनाइएको सशस्त्रभित्रकै कानुन शाखाका डिएसपी भुवन भण्डारीनिकट एक कर्मचारी बताउँछन् । गणभित्र सुरक्षाकर्मीको दैनिक हाजिरी विवरण नरेश सिंह साहुले आफूलाई उपलब्ध गराएको पुष्टि स्थानीय पत्रकार सन्तोष सिंह ठगुन्नाले गरेपछि नरेशमाथि थप अन्याय भएको हो ।

समाचार सार्वजनिक भएलगत्तै सशस्त्रले ठगुन्नालाई गण हेडक्वार्टरमा बोलाएर नरेशबाटै आफूले जानकारी पाएको लिखत विवरण टिपेको थियो । समाचार प्रयोजनका लागि आफूलाई सूचना वा जानकारी उपलब्ध गराउने स्रोतको गोपनीयता र सुरक्षा गर्नुपर्नेमा ठगुन्नाले नरेशको बचाउ गर्न सकेका छैनन् । पूर्ण रुपले पत्रकारिता पेशामा समेत सक्रिय नभएका उनी केही समयअघिसम्म एक स्थानीय रेडियोमा रिपोर्टिङ गर्थे । उनी एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला उपाध्यक्षसमेत हुन् तर केही हप्ताअघि मात्रै त्यसबाट राजीनामा गरेका छन् ।

शुरुमा नरेश आफैंले समाचार बनाउन हाजिरी विवरण आफूलाई उपलब्ध गराएको ती पत्रकारको भनाइ छ । जिल्लाका केही पत्रकारलाई मेसेन्जरमार्फत हाजिरी विवरण उनैले पठाएका थिए तर दार्चुलाका कुनै पनि पत्रकारले समाचार नलेखेपछि अर्का एकजना पत्रकारमार्फत धनगढीको दिनेशखबर डटकमलाई विवरण उपलब्ध गराइएको थियो । दिनेशखबरले तत्कालै समाचार लेखेर प्रकाशित गरे पनि स्रोत खुलाएको थिएन ।

दिनेशखबरका सम्पादक आशिष मल्लले आफ्नो बाइलाइन राखेर दार्चुलाको खबर सार्वजनिक गरेका हुन् । सन्तोषले सशस्त्र प्रहरी कार्यालयमै गएर नरेशबाट आफूलाई सूचना प्राप्त भएको व्यहोरा लिखित रुपमा स्वीकारेका छन् । यसबाट उनले कति आम्दानी गरे, प्रष्ट छैन ।

यसरी समाचारमार्फत वास्तविकता उजागर गरी सुधार वा कारवाही गराउनुपर्नेमा पत्रकार र मिडिया स्वयं दोषीको सहयोगी बनिदिएका छन् । पत्रकार आचारसंहिताविपरित यसरी स्रोत खुलाउने र गरिबको जीवन बर्बाद पार्ने पत्रकार एवं सञ्चारमाध्यमलाई कारवाही हुने कि नहुने ? प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले यस घटनाबारे चासो र सरोकार देखाउनुपर्ने दार्चुलाका क्रियाशील पत्रकारहरुको माग छ । स्रोत खुलाइएकै कारण कसैको जीवन बर्बाद हुने अवस्था आयो भने यसमा ती पत्रकार नै जिम्मेवार हुनुपर्ने दार्चुलाका एक सिनियर पत्रकार बताउँछन् ।

सन्तोष सिंह ठगुन्नालाई नयाँ पत्रिकाको रिपोर्टर बनाएर सशस्त्र प्रहरीले कागजपत्र गराएको छ । तर ठगुन्ना नयाँ पत्रिकामा आवद्ध छैनन् । उनी दार्चुलाको एउटा स्थानीय रेडियोमा गाउँघरबाट रिपोर्टिङ गर्थे तर पछिल्लो समय उक्त रेडियोमा पनि उनको क्रियाशीलता छैन ।

प्रतिक्रिया