२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुलामा वडास्तर बाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने

SansherOnline SansherOnline
बिहिबार १९, साउन २०७९ ०८:०६
दार्चुलामा वडास्तर बाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने

दार्चुला । दार्चुलामा राष्ट्रिय परिचयपत्रका लागि वडास्तरबाटै विवरण संकलन गरिने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै व्यक्तिको विवरण संकलन हुदै आएकोमा अब वडा स्तरबाट संकलन गरिन लागिएको हो । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी लगायत सरोकारवालाहरु सँग जिल्ला सदरमुकाम खलंगामा अन्तक्र्रिया गर्दै वडास्तरबाटै नागरिकको जैविक र वैयक्तिक विवरण संकलन तथा प्रविष्ट गर्ने कार्य बारे जानकारी गराएको छ ।

साउन देखि असोजसम्म वडाबाटै अभियानको रूपमा राष्ट्रिय परिचयपत्र विवरण संकलन गरिने जानकारी दिँदै सबैलाई राष्ट्रिय परिचयपत्रको पहुँचमा ल्याउन लागिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भटराईले बताए । नागरिकको प्रमाण र पहिचान दिने विभिन्न कागजपत्रलाई विस्थापित गर्न राष्ट्रिय परिचयपत्रको अवधारणा र महत्व भएको उल्लेख गर्दै महानिर्देशक भटराईले १६ वर्षदेखि माथिका सबै नागरिकले अब राष्ट्रिय परिचयपत्रको प्रयोग गर्नुपर्ने जानकारी दिए । 

अभियानको रुपमा यो कार्यक्रम ३६ जिल्लामा सम्पन्न भएको तथा दार्चुला थप भएर १३ जिल्लामा जारी रहेको बताइएको छ । विभागले अहिलेसम्म ८० लाख ७५ हजार व्यक्तिको विवरण संकलन गरेको जनाएको छ । दार्चुलामा २ वर्षको अवधिमा ९ हजार १ सय ७८ विवरण संकलन भएको छ । व्यक्तिगतका साथै जैविक विवरण राष्ट्रिय परिचयपत्रले समेट्दछ । राष्ट्रिय परिचयपत्रलाई नागरिकले आफ्नो नागरिकता, मतदाता परिचयपत्र, करसम्बन्धी अभिलेख, बैंकिङ कारोबार, सामाजिक सुरक्षा परिचयपत्रलगायतमा प्रयोग गर्न सक्ने भएकाले यो बहुउपयोगी मानिएको छ । राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गर्न नेपाली नागरिकता, राहदानी लिएको भए राहदानीको सक्कल वा फोटोकपी, बसाइँसराई गरेको हकमा बसाइँसराइको सक्कलै प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ताको सक्कलै प्रमाणपत्र, श्रीमान् श्रीमतीको मृत्यु भएको हकमा मृत्यु दर्ताको प्रमाण पत्र आवश्यक पर्छ । 

चार महिनाभित्र जिल्लाका सबै नागरिकको परिचयपत्र बनाउने लक्ष्यसहित वडास्तरबाट काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । वडाबाट विवरण संकलन गर्दा सबैको पहुँच हुने र भीडभाड र सास्ती कम हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया