२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

दार्चुलामा ५ हजार २४७ गोटा भारतीय सेतो अण्डा बरामद

SansherOnline SansherOnline
शनिबार ०७, साउन २०७९ ११:०९
दार्चुलामा ५ हजार २४७ गोटा भारतीय सेतो अण्डा बरामद

दार्चुला : दार्चुलामा अवैध भारतीय सेतो अण्डा बिक्री वितरण हुने गरेको छ । सरकारले भारतबाट पंक्षी तथा पंक्षीजन्य पदार्थ आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाएको भएपनि अवैध रूपमा आयात हुने तथ्याङ्कलाई हेर्ने हो भने प्रतिबन्ध खुकुलो रहेको पाइएको छ । पशु क्वारेनटाइन चेक पोष्ट दार्चुलाले गत आर्थिक वर्ष ०७८/०७९ मा सीमा क्षेत्रबाट ५ हजार बढि कुखुराको अण्डा बरामद गरेको जनाएको छ ।

गत आर्थिक वर्षमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा ५ हजार २ सय ४७ गोटा अवैध कुखुराको अण्डा र ११ किलोग्राम मासु बरामद गरी नष्ट गरिएको पशु क्वारेन्टाइन चेक पोष्ट दार्चुलाका पशु स्वास्थ्य प्राविधिक मीन बहादुर बमले बताए । उनका अनुसार गत आवको साउन महिनामा पंक्षीजन्य पदार्थ नभित्रिए पनि भदौमा १ हजार ५० गोटा, असोजमा ३०, कात्तिकमा १ सय ५०, मंसिरमा ७०, पुषमा ४ सय ९२, माघमा ३०, फागुनमा ९ सय ५८ गोटा कुखुराको अण्डा बरामद गरि नष्ट गरिएको छ ।

यस्तै चैतमा ४ सय ५, बैशाखमा ५ सय ६०, जेठमा ३ सय र असारमा १ हजार २ सय २ गोटा अण्डा बरामद गरी नष्ट गरिएको छ । भदौ र असार महिनामा गरी ११ किलोग्राम कुखुराको मासुसमेत बरामद गरिएको छ ।

भारतीय सेतो अण्डा नेपालको उत्पादनभन्दा सस्तो हुने भएकाले लुकाइछिपाइ ल्याई नेपाली बजारमा बिक्री वितरण भइरहेको हो । भारतीय बजारमा सेतो अण्डाको मूल्य प्रतिगोटा १० रुपैयाँ पर्छ । जबकी नेपाली बजारमा प्रतिगोटा अण्डाको मूल्य २० रुपैयाँ पर्छ ।

भारतमा कुखुराको अण्डाको मूल्य नेपालमा भन्दा दोब्बर सस्तो पर्ने भएकोले बढी मुनाफा कमाउनको लागि व्यापारीहरुले विक्रि वितरण गर्ने तथा उपभोक्ताहरुले पनि सस्तोको लोभमा त्यही उपभोग गरिरहेका छन् ।

भारतबाट भित्रिने पशुजन्य पदार्थ (कुखुरा, चल्ला र अण्डा) मा रोक लगाउन सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

प्रतिक्रिया