२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा सत्ता गठबन्धनका दलहरुको चुनावी तालमेलका बारेमा प्रारम्भिक छलफल सुरु

SansherOnline SansherOnline
बिहिबार २४, चैत २०७८ ०७:१८
बैतडीमा सत्ता गठबन्धनका दलहरुको चुनावी तालमेलका बारेमा प्रारम्भिक छलफल सुरु

बैतडी । बैतडीमा सत्ता गठबन्धनका दलहरुले चुनावी तालमेलका बारेमा प्रारम्भिक छलफल गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनका बिषयमा सत्ता गठबन्धनका दलहरुबीच जिल्लामा पहिलो पटक बिहीबार छलफल भएको हो । छलफलमा नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्द, माओवादी केन्द्रका जिल्ला इन्चार्ज नरेन्द्र कुँवर र एकीकृत समाजवादीका जिल्ला इन्चार्ज परमानन्द भट्टको सहभागिता रहेको थियो । सभापति चन्दको अध्यक्षतामा भएको छलफलले तीन सदस्यीय संयन्त्र समेत गठन गरेको छ । सो सयन्त्रमा काङ्ग्रेसका तर्फबाट सभापति चतुरबहादुर चन्द,एकीकृत समाजवादीका तर्फबाट जिल्ला इन्चार्ज परमानन्द भट्ट माओवादीका तर्फबाट जिल्ला संयोजक शंकर भण्डारी लाई राखिएको छ ।

प्रारम्भिक छलफलमा आगामी चुनावमा कसरी मिलेर जाने भन्ने बिषयमा पालिकास्तरमै गठबन्धन दलका नेताहरुसंग छलफल गर्ने सहमति भएको छ । स्थानीय तहका नेताहरुसंगको छलफलको निष्कर्षका आधारमा फेरी जिल्ला संयन्त्रमा छलफल हुने नेपाली काङ्ग्रेसका सभापति चतुरबहादुर चन्दले बताए । 

केन्द्रिय निर्णय अनुसार वडा तहसम्मै चुनावी गठबन्धन गर्ने र त्यसका लागि छलफल गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नरेन्द्र कुँवर विजयसुन्दरले बताए । उनले भने ‘हामीले केन्द्रिय सर्कुलर अनुसार चुनावी गठबन्धन गर्ने भनेका छौं । यसका लागि वडा तहदेखि नै छलफल गर्ने भनेका छौं ।’नेपाली काङ्ग्रेसले पनि केन्द्रिय सर्कुलर अनुसार नै स्थानीय तहमा गठबन्धन दलका नेताहरुसंग छलफल गर्नका लागि सर्कुलर पठाएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले बताए ।

प्रतिक्रिया